आइतबार, वैशाख ७, २०८२

सीको स्वागतमा कर्मचारी अनिवार्य

नेपालखोज २०७६ असोज २५ गते १५:४८

२५ असोज, काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको स्वागत राष्ट्रसेवक कर्मचारीले पनि गर्ने भएका छन् । दिउँसो काठमाडौँमा राष्ट्रपति सीको आगमन भएसँगै कर्मचारीले विभिन्न ठाउँमा स्वागत गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटेलमा पुग्ने छन् । त्यहाँ जाने क्रममा उनलाई सडकमा उभिएर स्वागत गरिनेछ ।

यसैगरी उक्त रुटमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सीको फोटो राखेर स्वागत गेट बनाइएको छ । सीको स्वागतका लागि विमानस्थल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथलीलगायतका ठाउँमा फूल र गमला राखिएको छ ।

सीको स्वागतका लागि कर्मचारीहरुलाई अनिवार्य गरिएको छ । सरकारी पोशाकमा कर्मचारीहरु सवारी हुने सडकको दुवै छेउमा स्वागत गर्नका लागि लामवद्ध ४ बजेदेखि नै बस्नेछन् ।
त्यस्तै काठमाडौं महानगरपालिकाले पनि वडा अध्यक्षहरुको संयोजकत्वमा नै सवारीमा रुटमा कर्मचारीहरुलाई अनिवार्य उपस्थित गराएको छ ।

प्रतिक्रिया