सेयर बजारमा उछाल, लगानीकर्ता थप उत्साहित
६ माघ, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३ दशमलव ४३ अंकले बढेपछि सेयरबजारमा उछाल आएको हो ।
यस दिन १७८ कम्पनीको २ अर्ब ९ करोड ८ लाख ७७ हजार ९१७ रुपैयाँको सेयर कारोबार भएको छ । जसबाट ६१ लाख ३१ हजार ४१८ कित्ता सेयर खरिदबिक्री भएका छन् । दुई दर्जन कम्पनीको सेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ ।
करिब ४२ महिनादेखि वियरिस प्रवृत्तिमा रहेका बजारमा सेयर भाउ निकै तल्लो बिन्दुमा पुगेपछि लगानीकर्ता एकाएक उत्साहित बनेका छन् । भाउ बढ्न थालेपछि पुराना लगानीकर्ताले खरिद क्रम बढाए भने नयाँ लगानीकर्ता पनि बजारमा थपिएका छन् । जसका कारण बजारमा छोटो समयमै नयाँ माहोल पैदा हुन गएको हो ।
सूचकसँगै कारोबार रकम पनि बढ्न थालेपछि लगानीकर्ता थप उत्साहित भएका छन् । सूचीकृत कम्पनीहरूको दोस्रो त्रैमासमा औसतमा नाफा बढ्ने अनुमान गरिएको छ । बैंकमा तरलता सहज हुनु, माघ लागेसँगै बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर थोरै भए पनि घटाउनु बजारमा उत्साह थपिनुको अर्को कारण हो । यस्तै, बैंक तथा वित्तीय संस्थाले सेयर कर्जातर्फ जोड दिन थालेको र सजिलै सेयर कर्जा पाइने भएकाले पनि लगानीकर्ता बजारप्रति उत्साहित भएका हुन् ।
प्रतिक्रिया