विकट बस्ती जोड्न दुई वटा सडकमा धमाधम काम हुँदै
८ माघ, दार्जुला । मार्मा गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ३ का विकट बस्ती जोड्ने गरी धमाधम सडक निर्माण भइरहेको छ । स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेका दुवै सडकलाई विकट ग्रामीण बस्तीसम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको हो ।
सडक सञ्जालमा नजोडिएका बस्तीलाई सडकको पहुँचसम्म ल्याउन गत वर्षदेखि स्थानीय सरकारले सडक निर्माणमा प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो । गाउँपालिकाको सबैभन्दा ठूलो बस्ती रहेको वडा नम्बर १ को जुडे, दर्मा, ताकु, घोल्जर तोलीमाडाँै, दह र लोयोलगायतका बस्तीसम्म सडक पु¥याउने गाउँपालिकाको योजना छ ।
गाउँपालिका–१ को पारिबगरदेखि घोल्जरसम्म कूल २३ किलोमिटर सडक निर्माण हुने गाउँपालिकाका सब–इञ्जिनियर विक्रम जोशीले जानकारी दिनुभयो । गत वर्षबाट सडक निर्माणले गति लिएको हो । यो सडकमा हालसम्म झण्डै रु ५० लाख खर्च भएको छ ।
अहिलेसम्म साढे तीन किलोमिटर क्षेत्रसम्म सडकको ट्र्याक खुलाइएको छ । वडा नम्बर १ को दर्मधार बस्तीसम्म सडकको ट्र्याक खुलेसँगै जीप पुगेको गाउँपालिका–१ का वडाध्यक्ष वीरेन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
सडक दुर्गम बस्तीसम्म पुग्न थालेपछि स्थानीयवासी खुशी भएका छन् । साविकको गाविस हुँदा पनि स्थानीयवासीले सास्ती भोग्दै आएका थिए । जनसङ्ख्याको हिसाबले यो वडा सबैभन्दा ठूलो छ । यो वडामा तीन हजारभन्दा बढीको बसोबास छ ।
प्रतिक्रिया