बिहीबार, वैशाख ११, २०८२

कर्णाली प्रदेशमा हिमपातले रोक्यो विकास निर्माण

नेपालखोज २०७६ माघ ९ गते १०:१६

९ माघ, जाजरकोट । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुगेको छ । यहाँका स्थानीय तहले अहिले सम्झौता गरेर चैतबाट मात्र काम शुरु गर्ने जनाएका छन् ।

उपल्लो डोल्पाका चार र तल्लो डोल्पाको एक स्थानीय तहमा विकास निर्माणर्मा समस्या भएको छ । डोल्पोबुद्ध गाउँपालिका, छार्कातामसुङ गाउँपालिका, शेफोक्सुण्डो गाउँपालिका, काइके गाउँपालिकाको माथिल्लो भाग, मुड्केचुला गाउँपालिकाको वडा ५, ६, ७, ८ र ९ मा समेत भारी हिमपातका कारण विकास निर्माणमा समस्या आएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

हिउँ पग्लिएपछि मात्र पूर्वाधार विकासका काम शुरु हुने शेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष तसीतन्दुप गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सम्झौताको काम मात्र शुरु भएको छ ।

हिमपातका कारण उपल्लो डोल्पाका स्थानीयवासी बेँसी झरेका छन् । चैतमा तातो भएपछि मात्र आफ्नो थाकथलो फर्किएसँगै विकास निर्माणका काम शुरु हुने उहाँले जानकारी दिनुभयो । अहिले उपल्लो डोल्पाका स्थानीयवासी जडीबुटी, जम्बुलगायतका वस्तु लिएर तल्लो भागमा व्यापार गरेर बस्ने गरेका छन् ।

तातो मौसम शुरु भएसँगै हिमालमा यार्सागुम्बा सङ्कलनको मौसम शुरु हुनुका साथै विकास निर्माण कामले तीव्रता पाउने जनाइएको छ । उपल्लो डोल्पाका स्थानीय तहका कार्यालयसमेत सदरमुकाम दुनैमा सम्पर्क कार्यालय स्थापना गरेर विकास निर्माणको सम्झौता गर्ने काम भइरहेको काइके गाउँपालिकाले जनाएको छ ।

हिमपातका कारण उपल्लो डोल्पामा बस्ने अवस्था नभएकाले सम्झौता, सिफारिस अन्य काम सदरमुकाम बाट भइरहेका हुन् ।

प्रतिक्रिया