बिहीबार, वैशाख ११, २०८२

गायिका आस्था राउत आज धरौटीमा रिहा हुने सम्भावना

नेपालखोज २०७६ माघ १४ गते ९:१५

१४ माघ, काठमाडौँ । प्रहरीमाथि अभद्र व्यवहारको अभियोग लागेर हाल थुनामा रहेकी गायिका आस्था राउत आज मंगलबार धरौटीमा रिहा हुने सम्भावना छ ।

प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित मंगलबार आज गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

अभियोगमाथि छानबिन गरी मंगलबार आज नै थुनछेक बहस हुने र गायिका राउतलाई धरौटीमा छोड्ने तयारी रहेको जनाइएको छ । सामान्यतया अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयले धरौटी माग्ने गर्छ ।

काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले सोमबार नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई पठाइको भए पनि केही प्राविधिक प्रकृया पूरा गर्नुपर्ने भन्दै फर्काई दिएको बताए ।

थुनामा रहेकी गायिका राउत सोमबार बेलुका बिरामी परेपछि हाल त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा छिन् । ड्युटीमा रहेका बेला आफूलाई दुव्र्यवहार गरेको भन्दै त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएकी थिइन् ।

विमानस्थलका प्रहरीले आफूलाई दुव्र्यवहार गरेको भन्दै दुई हप्ताअघि गायिका राउतले गरेको फेसबुक लाइभ भाइरल भएको थियो । लगत्तै प्रहरीले सुरक्षा जाँचका क्रममा दुव्र्यवहार गरिएको भनिएको अवस्थाको सिसिटिभी फुटेज बाहिर ल्याएको थियो ।

प्रतिक्रिया