सागमा पदक विजेताहरु सम्मानित
भक्तपुर । नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल भक्तपुरका खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित भएका छन् ।
बुधबार भक्तपुर जिल्ला समन्वय समिति तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा पदक जित्न सफल खेलाडी, उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी, भक्तपुर जिल्ला खेलकुद विकास समिति तथा हनुमन्ते नदी सफाई अभियानले गौरवमय १००औं हप्ता सफलतापूर्वक सम्पन्न गर्ने व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा १३ औं सागमा कराँतेमा दोहोरो स्वर्ण पदक जित्न सफल मन्देकाजी श्रेष्ठलाई नगद ३० हजार रुपैयाँ , स्वर्ण पदक बिजेता उसु खेलाडी सुस्मिता तामाङ्गलाई २५ हजार रुपैयाँ, तेक्वान्दोमा स्वर्ण पदक बिजेता खेलाडी काजल श्रेष्ठलाई २५ हजार रुपैयाँ, टेबल टेनिस रजत पदक जित्न सफल शिव शुन्दर गोथे २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै कबड्डीमा रजत पदक जित्न सफल यसोधा गिरीलाई २० हजार रुपैयाँ, ह्यान्ड्बलमा रजत पदक बिजेता देबकुमारी बाँस्कोटालाई २० हजार रुपैयाँ, भारोत्तोलनमा काँस्य पदक जित्न सफल लक्ष्मी बनलाई १५ हजार रुपैयाँ, जुडोमा कास्य पदक जित्ने शिव राम मकाजुलाई १५ हजार रुपैयाँ, बास्केटबलमा कास्य पदक बिजेता खेलाडी बिक्रम जोशीलाई १५ हजार रुपैयाँ तथा ओलम्पियन धाविका कान्छीमाया कोजुलाई १० हजार नगद पुरस्कारसहित प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले सम्मान गरे ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको नाम र प्रतिष्ठालाई संसारभर फिजाउन विजेता तथा सम्मानित सवैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा विशेष धन्यवाद व्यक्त गरे । भक्तपुरबाट सागमा ९ जना व्यक्तिले विजेता हासिल गर्नु कुनै समयमा सिङ्गो मुलुकले प्राप्त गरेको उपलब्धी जतिनै भक्तपुरले हासिल गरेको उल्लेख गर्दै उनले खेलकुद क्षेत्रले नेपालको शिरलाई ऐतिहासिक रुपमा उचो बनाएको बताए ।
उद्योगीहरुलाई हेरिने नकरात्मक दृष्टिकोलाई त्यागी सकारात्मक सोचको विकास आवश्यक रहेको औल्याउँदै उनले तीन वटै तहका सरकारले उद्योगीलाई आवश्यक सहयोग गरी आर्थिक वृद्धिदर तथा रोजागरीको बाटोलाई सहज बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया