नेपाली महिला फुटबलर सावित्राको भारतमा उत्कृष्ट प्रदर्शन
काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन् । चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकिछन् । जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता रहेकि छन् । ।
सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उनी उक्त लिग खेल्न माघ ७ गते भारत गएकी हुन् । दोस्रो पटक सो लिग खेलिरहेकी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध छिन्। गत वर्ष उनले सेथु एफसीबाट खेलेकी थिन् । सेथु गत संस्करणको च्याम्पियन पनि हो । सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गरेकी थिन्। उक्त लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
सावित्रालाई ओजिलको जर्सी
भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ । ओजिलका एजेन्ट इकुट सोगुटले उनलाई सो जर्सी हस्तान्तरण गरेका हुन् ।
जारी लिगमा सावित्रासम्मिलित गोकुलमले हालसम्म खेलेको चारवटै खेलमा जित हासिल गरेको छ । लिग शुरु हुनअघि भएको छनोट खेलमा समेत उनले तीन गोल गरिन् । सावित्रासँगै उक्त लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहेकी छिन् । सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतिक्रिया