मंगलबार, वैशाख ९, २०८२

बालबालिकालाई यातना दिने सञ्चालक पक्राउ

नेपालखोज २०७६ माघ २५ गते ९:४७

२५ माघ, ललितपुर । ललितपुरको भैंसेपाटीमा रहेको श्री पुनस्र्थापना पवित्र चिल्ड्रेन होमका सञ्चालक आकाश खाती र कमला खाती पक्राउ परेका छन् ।

महानगरी प्रहरी प्रभाग ललितपुरबाट खटिएको प्रहरी टोलीले संस्था छोडेर हिँडेका बालबालिकाको बयानका आधारमा सञ्चालकहरुलाई पक्राउ गरेको जनाएको छ ।

बालगृहबाट भागेका सात जना बालबालिकालाई महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले फेला पारी बालबालिका खोजतलास समन्यव केन्द्रमा राखेको छ । बालबालिकाहरुले प्रहरीलाई संस्थामा आफुहरुमाथी यातना दिएको विद्यालय नपठाएको र बालमैत्री वातावरण नभएकोले संस्था छोडेको बताएका छन् ।

सुर्खेतका ११ वर्षीया आशा नेपाली, १२ वर्षीया लक्ष्मी शर्मा, रुकुमका ११ वर्षीय सामुयल विक, ९ वर्षीया योना विक तथा हुम्लाका ९ वर्षीया दिना टमटा, ५ वर्षीय विजय टमटा र ७ वर्षीय कलबहादुर टमटालाई उद्धार गरिएको समन्वय केन्द्रले जनाएको छ ।

सुर्खेतको खजुरा घर बताउने ११ वर्षकी आशा नेपालीले आफूलाई दाङका एक चर्चका पास्टरले बालगृह सञ्चालक कमला खातीसँग काठमाडौँ पठाएको बताइन् । आशाका अनुसार पढाइदिने र खान दिइने भनी बालगृहमा ल्याइएको थियो । बालगृहमा ल्याएपछि विद्यालय नपठाई घर सफा गर्ने, लुगा धुने, भाँडा माझ्ने काममा लगाइएको बालबालिकाले बताएका छन् ।

प्रतिक्रिया