आइतबार, वैशाख ७, २०८२

ए डिभिजन लिगमा आज तीन खेल हुँदै, पहिलोमा त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइज भिड्दै

नेपालखोज २०७६ माघ २८ गते ८:५३

माघ २८, काठमाण्डौँ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मङ्गलबार आज तीन वटा खेल हुँदैछ । पहिलो खेलमा उपाधिको दाबेदार त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइज (बीबीसी) सँग प्रतिस्पर्धा गर्दैछ ।

दोस्रो खेलमा थ्री स्टारले न्युरोड टिम एनआरटीसँग खेल्नेछ भने तेस्रो खेलमा नेपाल पुलिसले मनाङ मर्स्याङ्दीको सामना गर्दैछ । तदोबाटोको एन्फा मैदानमा बिहान पौने नौ बजे हुने पहिलो आर्मीले बीबीसीलाई पराजित गरेमा फेरि शिर्ष स्थानमा उक्लनेछ ।

यसका साथै उपाधिका लागि लिगको अन्तिम खेलमा मच्छिन्द्रको खेलले उपाधिको छिनोफानो गराउनेछ । मच्छिन्द्रभन्दा दुई अङ्कले पछाडि रहेको आर्मी पहिलो पटक ए डिभिजन लिग जित्ने सङ्घारमा रहेको छ । ब्रिगेड ब्याइज भने अङ्क तालिकाको १२ औँ स्थानमा रहेको छ ।

मङ्गलबार आज नै हुने दोस्रो खेलमा लिगको चौथो स्थानमा रहेको थ्री स्टारले एनआरटीसँग खेल्नेछ । उपाधिको होडबाट बाहिरिसकेको थ्री स्टारले एनआरटीविरुद्ध जित निकाल्न सके शीर्ष ६ को यात्रा पक्क गर्नेछ । थ्री स्टारले ११ खेलमा ६ मा जित निकाल्दै २० अङ्क बनाएको छ ।

त्यस्तै ११ खेलमा पाँच जितमा हासिल गरेको एनआरटीको १५ अङ्क छ । लिगअन्तर्गत आजको अन्तिम खेलमा नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दीको सामना गर्नेछ । यस्तै लिगको छैटौं स्थानमा रहेको पुलिस भने मनाङविरुद्ध तीन अङ्क खोस्ने लक्ष्यमा छ ।

यो खेलमा मनाङविरुद्ध जित निकालेमा पुलिसको शीर्ष ६ रहने सम्भावना बलियो हुनेछ । पुलिसको ११ खेलमा १७ अङ्क छ भने मनाङको ११ खेलमा २२ अङ्क छ ।

प्रतिक्रिया