महराको अन्तिम सुनुवाइ जारी, फैसला आजै हुन सक्ने
काठमाण्डौ । आफ्नै कार्यालयमा कार्यरत एकजना महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मुद्दाको सुनुवाइ भइरहेको छ।
अहिले महरा पक्षका वकिलहरूले बहस गरिरहेको बताइएको छ । सरकारी वकिलको बहस सकिएकाले उनका पक्षबाट वकिलहरुले बहस प्रारम्भ गरेका हुन् । सम्भवतः अरु कुनै अवरोध नआए आजै फैसला हुनसक्नेछ ।
महराकाे पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी र भीमार्जुन आचार्यकाे बहस सकिएकाे छ । अब दुईजना अधिवक्ताको बहस बाँकी रहेको छ ।
यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो। उच्चले महिना दिनभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो।
असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको रोशनीले प्रहरीलाई भनेकी थिइन्। ‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन्।
त्यसरी हतारहतार निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो। महराले आफूलाई बलात्कार गर्न खोजेको, नमानेपछि कुटपिट गरेको र त्यसपछि आफूले प्रहरीलाई बोलाएर सबै कुरा भनेको भन्दै रोशनीले त्यही रात साढे ११ बजे आफूलाई बताएकी सांसद उमा रेग्मीले प्रहरीसामू कागज गरिदिएकी छन्।
त्यस्तै, पत्रकार अजयबाबु सिवाकोटीले गरेको कागज महराविरूद्धको अर्को प्रमाण हो। उनले रोशनीसँग लिएको भिडिओ अन्तरवार्ता, उक्त भिडिओ लिँदालिँदै महराको नम्बरबाट आएको कल,रोशनीले फर्काएको जवाफलाई पनि प्रमाणको रूपमा मिसिल संलग्न गरेको छ।
प्रतिक्रिया