छिम्केश्वरी पुग्न साधारण मार्ग खोल्न शुरु
तनहुँ । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी पुग्न अझै पनि पैदल हिँड्नुपर्ने बाध्यता छ । छिम्केश्वरीसम्म सडक सञ्जाल नजोडिएका कारण यहाँ पुग्ने सर्वसाधारणले पैदल हिँड्नुपर्ने समस्या रहँदै आएको छ । यही बाध्यताको अन्त्य गर्न गण्डकी प्रदेश सरकारले आँबुखैरेनी बजारदेखि छिम्केश्वरीसम्मको सडकमा नयाँ ट्रयाक खोल्न शुरु गरेको छ । महाभारत पर्वतीय श्रृङ्खलाको सबैभन्दा उचाइमा रहेको छिम्केश्वरी मन्दिरसम्म पुग्न प्रदेश सरकारको रु ३० करोडको लागतमा नयाँ ट्रयाक खोल्न शुरु गरिएको हो ।
बहुवर्षीय योजनाअन्तर्गत तीन वर्षमा काम सम्पन्न गर्ने प्रदेश सरकारले उक्त सडक निर्माणका लागि चालू आर्थिक वर्षमा रु ५३ करोड विनियोजन गरे पनि ठेक्का प्रक्रियामार्फत काठमाडौँस्थित शर्मा एण्ड काष्ठमण्डप जेभीले रु ३० करोडको लागतमा ठेक्का पाएको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार उक्त सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्र सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । उक्त खण्डमा ४।२५ मिटर चौडाइ कालोपत्र र एक मिटर नालासहित सात मिटर चौडाइको सडक हुनेछ ।
हाल उक्त सडकमा धमाधम ट्रयाक खोल्ने काम भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर आलेले छिम्केश्वरी सडक सञ्जालले जोडिएपछि त्यहाँस्थित मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको बताए ।
समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ । आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जिप यात्रा र त्यसपछि करिब एक÷दुई घण्टा पदयात्रा पछि छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीमा गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण, दलित, अति सीमान्तकृत वर्ग चेपाङ र भुजेल जातिको बसोबास रहेको छ ।
छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल आवलोकन गर्न सकिन्छ । छिम्केश्वरीमा छिम्केश्वरीमाई र बूढीकन्यादेवी माईको मन्दिर रहेको छ । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनःनिर्माण पनि शुरु गरिसकेको छ । सडक नपुगेका कारण मानिसले बोकेरै निर्माण सामग्री छिम्केश्वरी पु¥याएका छन् । गाउँपालिकाले मन्दिर पुनःनिर्माणका लागि गत वर्ष रु २० लाख विनियोजन गरेको थियो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनःनिर्माणका लागि रु ८० लाख लाग्ने अनुमान गरिएको छ । मन्दिरको धार्मिक महत्वलाई प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।
प्रतिक्रिया