मंगलबार, वैशाख ९, २०८२

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले भने, ‘जन्मदिनको भोज कार्यकक्षमा होइन निवासमा हो’

नेपालखोज २०७६ फागुन ४ गते १६:१८

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको कार्यकक्षमै मदिरासहितको भोज गरेको भनि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

शनिवार सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियोका कारण उनको सार्वजजिनक रुपमा आलोचना समेत भइरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (गण्डकी) प्रदेशका इन्चार्ज समेत रहेका गुरुङले उक्त भिडियो आफ्नो कार्यकक्षमा नभइ जन्मदिनमा निवासमा पारिवारिक जमघटमा भएको बताएका छन् ।

गुरुङको सचिवालयले विज्ञप्ति जारी गर्दै भनेको छ , ‘फागुन २ गते मुख्यमन्त्रीको जन्मदिन रहेको र उक्त दिन निवासमा साँझ पारिवारिक जमघट गरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल र विभिन्न संचार माध्यममा सार्वजनिक भिडियो, फोटो र समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘फागुन २ मा मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन मुख्यमन्त्रीको जन्म दिनसमेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो। सो क्रममा खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ।’

विज्ञप्तिमा गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरीत कार्य नभएको उल्लेख गरिएको छ।

प्रतिक्रिया