बुधबार, वैशाख १०, २०८२

अहिंसावादी पदयात्रीसँग छलफल

नेपालखोज २०७६ फागुन ११ गते १९:११

काठमाडौँ । जय जगत् भन्ने मूल नारासहित भारतदेखि जेनेभासम्म शुरु भएको पदयात्राका क्रममा नेपाल आइपुगेका पाँच जना पदयात्री र मानवअधिकार तथा शान्ति समाजका सदस्यबीच छलफल भएको छ । समाज केन्द्रीय कार्यालयमा आज भएको छलफलमा पदयात्रीले पदयात्राको उद्देश्य र समाजका सदस्यले जगत्मुखी, जीवनमुखी, सेवामुखी उद्देश्य अनुरुप सञ्चालित अभियानका अनुभव आदानप्रदान गरेका थिए ।

अहिंसालाई मूल मन्त्र मानी महात्मा गान्धीको विचार प्रवद्र्धन गर्ने उद्देश्यसहित शुरु भएको जय जगत् अभियानले अहिंसा, जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना र सामाजिक न्यायका लागि एक वर्षे पदयात्रा प्रारम्भ गरेको जनाएको छ । पचास जना पदयात्रीमध्ये नेपाल आएका पाँच जना छन् । कार्यक्रममा समाजका तर्फबाट जय जगत् अभियानलाई रु १६ हजार सहयोग पनि हस्तान्तरण गरिएको थियो ।

विगत १४ वर्षदेखि जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियानका साथसाथै हिमालय बचाऔँ अभियान समाजले सञ्चालन गर्दै आएको छ । समाजले हिमालय बचाऔँ, नदी जोगाऔँ शीर्षकमा केन्द्रित रही प्रदेश नं. १ मा फागुन तेस्रो साता कार्यक्रम आयोजना गर्ने भएको छ ।

अभियानको पहिलो चरण फागुन १४ गते सङ्खुवासभाबाट प्रारम्भ भई फागुन १९ गते मोरङमा समापन हुनेछ । अभियानका लागि दर्जन अभियानकर्मी फागुन तेस्रो साता काठमाडौँबाट सङ्खुवासभा जाँदै छन्।

प्रतिक्रिया