आइतबार, वैशाख ७, २०८२

प्रधानमन्त्रीको स्वास्थ्य स्थिर (भिडियो सहित)

नेपालखोज २०७६ फागुन २१ गते १७:२६

काठमाडौं । सफल मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको बताए ।

खड्काका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ । ‘उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा छन् । प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ’ खड्काले भने ।

ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले आफ्नो एउटा मिर्गौला दिएकी हुन् ।

प्रधानमन्त्री ओलीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।

मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको डा. खड्काले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा। डा। प्रेम ज्ञवाली, प्रा. डा. अनन्तकुमार लगायतको टोली संलग्न थियो ।

यस्तै चिकित्सा टोलीमा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपालीलगायतको टोली थियो ।

यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्यलगायतका टोलीको सहभागिता रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया