बुधबार, वैशाख १०, २०८२

नुन चिनी लगायतका सामग्री अभाव नहुने साल्ट ट्रेडिङको भनाई

नेपालखोज २०७६ फागुन २५ गते १६:०३

काठमाडौं । कोरोना भाईरसका कारण विश्व नै त्रसित रहेका बेला काठमाडौंमा भने कालाबजारीहरु सल्बलाएका छन् । कालाबजारीहरुले दैनिक उपभोग्य सामग्रीहरु अभाव हुने हल्ला फिँजाएर नून समेत अभाव सिर्जना गर्न थालेपछि आयोडिनयुक्त धुलो नुन विक्री वितरण गर्दै आईरहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म देशको माग धान्न सक्ने गरी नुन लगायतका अत्यावश्यकीय वस्तुको भण्डारण रहेको विज्ञप्ति मार्फत जनाएको छ ।

साल्ट ट्रेडिङले विज्ञप्तिमार्फत उपभोक्तालाई निश्चिन्त रहन आग्रह गर्दै दैनिक उपभोग्य सामग्री नून, तेल, चिनी लगायत खाद्य सामाग्री प्रशस्त स्टक रहेको बताएको छ ।

कर्पोरेशनका विभागिय प्रबन्धक ब्रजेश कुमार झाले चिनीको पनि पर्याप्त मौज्दात रहेको जानकारी दिएका छन् । हाल २ हजार ५ सय मेट्रिक टन चिनी गोदाममा रहेको र ७ हजार ५ सय मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको झाले बताए । कर्पोरेशन लगायतसँग करिब पाँच महिनालाई पुग्ने चिनी मौज्दात रहेको उनको भनाइ छ ।

चिनीको हाहाकार छ वा हुन्छ भनेर चिन्तित हुनुपर्ने अवस्था नरहेको स्पस्ट पार्दै झाले अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरे । कर्पोरेशनले नुन, चिनी, एल पी ग्यास, चामल, तेल, आटा, मैदा, दाल लगायतका उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया