जमल र रत्नपार्कको आइल्याण्ड प्रभु वैकले बनाउने
काठमाडौं । काठमाडौंको रत्नपार्क, जमल र तीनधारा पाठशाला अघिल्तिर गरी ३ वटा ट्राफिक आइल्याण्डको व्यवस्थापन प्रभु बैङ्क गर्ने भएको छ । आइल्याण्ड निर्माणका लागि आज काठमाडौं महानगरपालिका र प्रभु वैकवीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको रोहबरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ठाउँ लिने आफ्नो प्रचार गर्ने तर सौन्दर्यीकरणमा ध्यान नदिने हो भने आपसी सम्बन्ध लामो समय टिक्न नसक्ने बताए । आइल्याण्ड निर्माण गर्ने भनिएका ठाउँमा सदाबहार फूल फुलुन् । सहरको मुहार राम्रो बनाउन राखिएका ती ठाउँहरु अबाञ्छित गतिबिधि सञ्चालन गर्ने ठाउँ नबनुन्, मेरो चाहना यही हो । मेयर शाक्यको भनाइ थियो ।
कार्यक्रममा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचनले महानगरले स्वीकृत गरेको ढाँचामा मौसम सुहाउँदा फूल, ठाउँ सुहाउँदा बिरुवा र आकर्षक फाउन्टेन निर्माण गर्ने योजना रहेको बताए ।
सम्झौताबमोजिम बैङ्कले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिका ट्राफिक आइल्याण्डमा बगैचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।
आउँदो ५ बर्षका लागि भएको सम्झौताबमोजिम आइल्याण्डको व्यवस्थापन गरेवापत्को खर्च बैङ्क आफैंले व्यहोर्नेछ ।
आइल्याण्डमा बैङ्क र महानगरको परिचय झल्कने लोगो राखिनेछ । यसमा बिज्ञापन सामाग्री राखिने छैन । आपसी सहमतिमा राखिने डिजिटल बोर्डमा सन्देशमुलक सामाग्री मात्र सम्झौतामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया