कोरोनाको संक्रमणबाट विश्वभरी ज्यान गुमाउनेको सङ्ख्या १० हजार पुग्यो, दुई लाख ४५ हजार बढी संक्रमित
काठमाण्डौं । विश्वभरी नै फैलिदैँ गएको कोरोना भाइरस अर्थात कोभिड–१९का कारण ज्यान गुमाउनेको सङ्ख्या विश्वभर १० हजार नाघेको छ ।
यो भाइरस विश्वका एक सय ७९ देशमा फैलिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस भाइरसबाट झण्डै दुई लाख ४५ हजार जना सङ्क्रमित भइसकेका छन भने ८७ हजार चार सय सात जना यसको सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् । अन्यको अहिले उपचार भइरहेको छ ।
कोरोनाको सङ्क्रमण सुरु भएको चीनमा भन्दा इटलीमा ज्यान गुमाउनेको सङ्ख्या धेरै पुगेको छ । चीनमा अहिलेसम्म् तीन हजार दुई सय ४५ जनाको मृत्यु भएको छ भने इटलीमा तीन हजार चार सय पाँच जनाले ज्यान गुमाएका छन् ।
इटलीमा मात्रै पछिल्लो २४ घण्टामा चार सय २७ जनाले ज्यान गुमाएका छन भने पाँच हजार तीन सय २२ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।
यस्तै, इटालीमा ४१ हजार ३५ जना सङ्क्रमित रहेको पुष्टि भएको छ भने ती मध्य चार हजार चार सय ४० जना उपचारपछि निको भएर घर फर्केका छन् ।
प्रतिक्रिया