कोरोना भाइरस विरुद्धको विषादी छर्ने हल्लाको पछाडि नलाग्न सेनाको आग्रह
काठमाडौं । मुलुक कोरोना भाईरसको संक्रमण रोक्नका लागि लागि परेका बेला नेपाली सेनाले आकाशबाट हेलिकप्टरको प्रयोग गरी कोरोना भाइरस(कोभिड–१९) को किटनाशक औषधि छोडिने भन्ने समाचार हल्लामात्र भएको सेनाले बताएको छ ।
सामाजिक सञ्जालहरुमा सेनाले विषादी छर्कने भन्ने सन्देश सहितको अडियो भाईरल भएपछि सेनाले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता भ्रामक हल्लोको पछि नलाग्न आग्रह गरेको छ ।
सेनाले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हाल विश्वभर फैलिँदै गएको कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको तथ्य प्रेस विज्ञप्तिमार्फत जानकारी गराईएको सर्वविदितै छ ।
यसको अलावा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरि किटनाशक औषधी छाड्ने कुनै योजना नभएको जानकारी गराईन्छ ।’सेनाले स्पष्ट पारेको छ, ‘तसर्थः हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ ।’
सेनाले कोरोनाको प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । ।
प्रतिक्रिया