बुधबार, वैशाख १०, २०८२

पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गर्न माग

नेपालखोज २०७६ चैत ८ गते २२:०४

कञ्चनपुर । भीमदत्त नगरपालिकाले कोरोना सङ्क्रमण (कोभिड १९) को जोखिमलाई दृष्टिगत गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न सङ्घ सरकारसित अनुरोध गरेको छ । नगर कार्यपालिकाको आज बसेको ४४औँ कार्यपालिकाको आकस्मिक बैठकले गड्डाचौकी नाकाबाट फर्किनेको अत्यधिक बढेकाले केही दिनका लागि नाका बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

कार्यपालिका बैठकमा भीमदत्त नगरपालिकाअन्तर्गत सबै अत्यावश्यक सेवा उपलब्ध गराउनेबाहेक सबै कार्यालय बन्द गर्ने निर्णयसमेत गरिएको छ । यसैगरी बैठकले कोरोना रोकथामका लागि स्वमय्सेवक परिचालन, कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई सहुलियत दिने, ५० श्यैयाको प्री फाइभ आइसोलेशन कक्ष स्थापनाका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरेको छ । नगरपालिकाले कोरोना सङ्क्रमणबाट जोगिन सुरक्षाका उपायहरु अपनाउन र अत्यावश्यक कामबाहेक अरू समयमा घरबाहिर ननिस्कनु सबै नगरवासीलाई आग्रह गरेको छ ।

नगर कार्यपालिकाका नगर प्रवक्ता हिमालबहादुर चन्दले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको कार्यपालिकाको आकस्मिक बैठक बसेर नाका बन्द गर्न सङ्घ सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको जानकारी दिए। “कोरोनाको सङ्क्रमण जोखिम बढ्दै गएको, नाकामा आउनेका भीड थामिनसक्नु छ । यस्तो अवस्थामा जोखिमको धेरै सम्भावना छ”, नगर प्रवक्ता चन्दले भने “त्यसकारण कार्यपालिका बैठकले नाका बन्दका लागि सङ्घ सरकारसित अनुरोध गर्ने निर्णय गरेको हो ।”

प्रतिक्रिया