आज बस्ने मन्त्रिपरिषद् बैठकबाट लकडाउन लम्ब्याउने तयारी
काठमाण्डौ । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ ।
आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्न लागेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामको एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले सरकारले लकडाउनको अवधि थप्न लागेको बताइएको छ ।
नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।
यो लकडाउन चैत १८ गते विहान ६ बजेसम्म कायम रहनेछ ।
लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ ।
तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ । यो कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।
प्रतिक्रिया