आइतबार, वैशाख ७, २०८२

अमेरिकामा आँधीबाट ३० जनाभन्दा बढीको मृत्यु

नेपालखोज २०७७ वैशाख २ गते १५:३९

काठमाडौँ । कोरोनाभाइरसको महामारी जारी रहेकै अवस्थामा संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ । आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारविहीन हुनुका साथै ठाउँठाउँमा बाढी र पहिरो गएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।

अलाबामा राज्यमा आँधीपीडित मानिसहरु सामुदायिक आश्रयकेन्द्रमा भेला भएका र कोरानाभाइरस प्रसार रोक्न उनीहरुले मास्क लगाउनु परेको छ । आँधीबाट अलाबामा राज्यमा मात्र ११ जनाको मृत्यु भइसकेको छ ।

उता दक्षिणी क्यारोलिना राज्यमा नौ जनाको ज्यान गएको छ भने छिमेकी राज्य जर्जियामा आठ जनाको मृत्यु भएको छ । टेनिसी राज्यका अधिकारीहरुले राज्यमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाएका छन् । अर्कान्सास र उत्तरी क्यारोलिना राज्यमा रुखहरु ढलेका वा घरहरु भत्किएका कारण केही व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।

दक्षिणी क्षेत्रका राज्यहरुका कपितय ठाउँमा शक्तिशाली चक्रवात (टोर्नाडो) उत्पन्न भएको र यी चक्रवातहरु पूर्वी समुद्री किनारातर्फ बढ्न थालेको देखिएको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया