आइतबार, वैशाख ७, २०८२

बन्दाबन्दीमा सुत्केरीलाई पोषिला खानेकुरा वितरण

नेपालखोज २०७७ वैशाख १५ गते १३:३१

म्यग्दी । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन म्याग्दीको मालिका गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा वितरण गरेको छ ।

‘उपाध्यक्षसँग सुत्केरी भेटघाट’ कार्यक्रमअन्तर्गत पोषण सुधारका लागि २०७६ साउनयता सुत्केरी भएकालाई घ्यु, अण्डा, ज्वानो र मेथी उपलब्ध गराएको हो । सुत्केरीलाई शरीर न्यानो हुने, शक्ति बढ्ने र दूध आउने भएकाले ज्वानो र मेथीको झोल बनाएर खुवाउने गरिन्छ । “पोषण सुधारका लागि सुत्केरीलाई घ्यु र अण्डा लिएर भेट्न जाने कार्यक्रम बनाएका थियौँ”, उपाध्यक्ष खरमाया बिटालुले भनिन्, “लकडाउनका कारण पोषिला खानेकुराको अभाव हुन सक्ने भएकाले वितरण गर्न थालेका छौँ ।”

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यु, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरेको छ ।

मालिका–३ डाँडागाउँका २० सुत्केरीलाई आइतबार घ्यु र अण्डा वितरण गरेर कार्यक्रम शुरु गरिएको थियो । प्रतिव्यक्ति आधा लिटर घ्यु र एक क्रेट अण्डा उपलब्ध गराइने उपाध्यक्ष बिटालुले बताइन् । विसं २०७७ असार मसान्तसम्म सुत्केरी हुनेले यो सुविधा पाउनेछन् । साउनदेखि असारसम्म सुत्केरी हुने ४०० जनाको अभिलेख तयार पारिएको छ ।

प्रतिक्रिया