हुलाकी सडकको निर्माण शुरु
सप्तरी । लकडाउनका कारण एक महिनादेखि बन्द रहेको हुलाकी सडकको निर्माण कार्य शुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेकोे लकडाउनमा पनि सुरक्षा सर्तकता अपनाएर सप्तरीको राजविराज–कञ्चनपुर सडक खण्डअन्तर्गतको हुलाकी सडक निर्माण कार्य शुरु गरिएको हो ।
कामदारबीच भौतिक तथा सामाजिक दूरी कायम राखी आवश्यक सुरक्षा सर्तकता अपनाएर काम शुरु गरिएको बज्रगुरु कन्स्ट्रक्सन कम्पनीका आयोजना व्यवस्थापक कलियान गौतमले बताए । बज्रगुरु कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएका राजविराज–कञ्चनपुर सडकअन्तर्गतको बनौलीदेखि सोनरा पकरीसम्मको तत्काल आठ किलोमिटरको हुलाकी सडकको निर्माण कार्य गर्न बाटोमा अहिले माटो दिएर मिलाउने काम शुरु गरिएको हो ।
तराई–मधेशको ‘लाइफलाइन’ भनिएको हुलाकी राजमार्गको निर्माण सडकमा अहिले माटो मिलान गर्ने काम तीव्र रुपमा थालिएको कम्पनीका व्यवस्थापक गौतमले जानकारी दिए । “सडक निर्माण शुरु भएको छ”, उनले भने, “यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण पूरै प्रभावित हुने अवस्था आएपछि निरन्तर समन्वयपछि काम शुरु भएको छ ।” प्रमुख जिल्ला अधिकारीसँग निरन्तर छलफलपछि निर्माण कार्य शुरु भएको उनको भनाइ छ ।
प्रतिक्रिया