विकास कामको अनुगमन गर्दै सभापति कोइराला
चिप्लेढुङ्गा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकास निमार्णका काममा चासो दिँदै अनुगमनलाई निरन्तरता दिएका छन् । कोइरालाले विश्वभर फैलिएको कोरोना भाइरसका कारण रोकिएका कामलाई अब निरन्तरता दिनुपर्ने भन्दै विभिन्न स्थानको अनुगमन गरेका हुन् । कोइरालाले आज आफ्नै निर्वाचन क्षेत्र बेगनासताल बाँधमा भइरहेको कामको अनुगमन गरे। उनले निर्माण सामग्री र मजदुर ल्याउन समस्या भए आफूलाई खबर गर्न र कामलाई निरन्तरता दिन निर्माण कम्पनीलाई निर्देशन दिए ।
उनले अब विकासको काममा जोड दिनुपर्ने भन्दै सुरक्षित वातावरण तयार गरेर बेरोजगार भएका मजदुरलाई काम गर्ने वातावरण बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । सांसद कोइरालासँगै अनुगमनमा पुग्नुभएका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इञ्जिनीयर किरण आचार्यले रु दुई करोडको लागतमा बाँध निर्माण हुनलागेको जानकारी दिए । कैलाश पर्वत निर्माण सेवाले ठेक्का पाएको बाँध निर्माण यही असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
बन्दाबन्दीका कारण केही दिन काम रोकिए पनि सांसद कोइरालासहित सबैको सहयोगले निर्माणकार्य शुरु भएको उनको भनाइ थियो ।
प्रतिक्रिया