इदको अवसरमा तालिबानद्वारा ३ दिने युद्धविरामको घोषणा
एजेन्सी । तालिबान सशस्त्र समूहले मुस्लिम धर्मावलम्वीहरुको महान चाड इदको उपलक्ष्यमा तनिदिने युद्धविरामको घोषणा गरेको छ ।
केही महिनादेखि तिव्र रुपमा हमला गर्दै आएको तालिबानले यही शनिबार इदको बिदाका लागि भन्दै हमला नगर्ने जनाएको हो । अमेरिकासँग शान्तिवार्तापछि पनि तालिबानले अफगानिस्तानका विभिन्न स्थानमा वम विस्फोट गराउने काम रोकेको छैन ।
अफगान सैनिकमाथि उसको आक्रमण पछिल्लो समय झन बढ्दोछ । अफगान राष्ट्रपति असरफ घानीले पनि आफ्ना सेनालाई कारवाही नगर्न आदेश दिँदै तालिबानको घोषणाको स्वागत गरेका छन् ।
यसैबीच अफगानिस्तानका लागि अमेरिकी राजदूतले यसलाई वार्ताको अवसरको रुपमा लिन आग्रह गरेका छन् । तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले विज्ञप्ति निकाल्दै देशभर कतै पनि आफ्ना ‘दुश्मन’विरुद्ध कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका छन् ।
२००१ मा अमेरिकी आक्रमणपछि अफगानिस्तानमा एउटा मात्रै युद्धविराम भएको छ । २०१८ मा पनि इदको अवसरमा युद्धविराम भएको थियो ।
त्यसबेला राष्ट्रपति घानीले युद्धविरामको आग्रह गरेका थिए र तालिबानले स्वीकार गरेको थियो । यसपटक भने तालिबानले युद्धविराम घोषणा गरेपछि राष्ट्रपति घानीले त्यसको स्वागत गरेका हुन् ।
प्रतिक्रिया