सोमबार, वैशाख ८, २०८२

इन्डोनेसियाका मस्जिदहरुमा प्रार्थना गर्न छुट

नेपालखोज २०७७ जेठ २३ गते १५:४५

काठमाडौँ । इन्डोनेसियाको राजधानी जकार्तामा मुस्लिम समुदायले नौ हप्तापछि पहिलो पटक मस्जिदहरुमा सामूहिक प्रार्थना गरेका छन् । कोरोनाभाइरसका कारण बन्द गरिएका मस्जिदहरु पुनः खुला गरिएको हो ।

प्रार्थनामा सहभागी हुन चाहने व्यक्तिहरुको मस्जिदको ढोकामा शरीरको तापक्रम लिनुका साथै हातमा स्यानिटाइजर लगाइएको थियो । प्रहरी र सेनाले सहभागी व्यक्तिहरुले सामाजिक दूरी कायम गरे नगरेको तथा मास्क लगाए नलगाएको अनुमगन गरेका थिए ।

प्रार्थना गर्दा आवश्यक पर्ने सरसामान आफैं ल्याउनु पर्ने तथा हात मिलाउन वा अंगालो मार्न निषेध गर्नुका साथै एक अर्काबीच कम्तीमा ३ फिटको दूरी कायम गर्न भनिएको छ । इन्डोनेसियामा कोरोनाभाइरसबाट हालसम्म २८ हजार ८१८ जना संक्रमित भएका र १ हजार ७२१ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति जोको विडोडोले कोरोनाभाइरसबाट सुरक्षित रहँदै मुलुकको अर्थतन्त्रलाई सही ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । सरकारले स्वास्थ्य नियमहरुको परिपालना गराउन तीन लाख ४० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । इन्डोनेसियामा जुलाईको अन्त्यदेखि प्रतिबन्धहरु पूर्णरुपमा हटाउने तयारी भइरहेको छ ।

प्राग – चेक गणतन्त्रले छिमेकी मुलुकहरु अस्ट्रिया, जर्मनी र हङ्गेरीबाट हुने यात्रा प्रतिबन्धहरु पूरै हटाएको छ ।

प्रधानमन्त्री आन्द्रेज बाबिसले तीन मुलुकमा रहेका तर कोरोनाभाइरस नेगेटिभ रहेका चेक नागरिकलाई स्वदेश फर्कन अनुमति दिइएको बताए । चेक गणतन्त्र र स्लोभाकियाले बिहीबार साझा सीमामा लागू सबै प्रतिबन्धहरु रद्द गरेका   छन् ।

प्रधानमन्त्री बाबिसले सीमा खुला गरेसँगै पर्यटन र व्यापार क्षेत्रले पुनर्जीवन प्राप्त गर्ने विश्वास व्यक्त गरे । कोरोनाभाइरस महामारीका कारण चेक गणतन्त्रको अर्थतन्त्रमा ठूलो नोक्सानी भएको थियो । वेलिङ्टन – फिजीले कोरोनाभाइरसबाट आफू मुक्त भएको घोषणा गरेको छ । त्यहाँका सबै १८ जना संक्रमित व्यक्ति निको भएर डिस्चार्ज भएका छन् । प्रधानमन्त्री फ्रान्क बाइनीमारामाले शुक्रबार आफ्नो मुलुकमा भेटिएका सबै कोरोना संक्रमित निको भइसकेको बताए ।

प्रतिक्रिया