शनिबार, वैशाख ६, २०८२

सुदूरपश्चिमका स्थानीय तहमा क्रमश सिल गरिँदै

नेपालखोज २०७७ असार ११ गते १५:३६

काठमाडौँ । देशैभर कोरोना संक्रमित दिनहुँ बढ्दै गइरहेको बेला सुदुरपश्चिम प्रदेशमा पनि यसको जोखिम उच्च देखिएको छ । त्यहाँ दिनहुँ जसो कोरोना संक्रमित बढ्दै जान थालेपछि स्थानीय तहले आफै धमाधम पालिकाहरु सिल गर्न थालेका छन् ।

करिब ३ महिनासम्मको लकडाउनले नागरिकको जनजीवन अस्तव्यस्त हुन थालेको भन्दै सरकारले असार १ गतेदेखि लकडाउन केहि खुकुलो पारेको छ । लकडाउन केहि खुकुलो भएसंगै मानिसको चहलपहल पनि बढेको छ । जसले गर्दा अहिले कोरोना संक्रमित बढ्दै जानथालेको भन्दै त्यसको रोकथामका लागि सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहले आ–आफ्ना पालिका सिल गर्न थालेका हुन् ।

सुदूरपश्चिममा पिसिआर जाँचका लागि सङ्कलन भएको नमुनाको रिपोर्ट दुई÷तीन सातासम्म पनि नआएपछि क्वारेन्टाइनबाट घर पठाउँदा समुदायमा सक्रमण फैलिने त्रास बढेको भन्दै त्यहाँका स्थानीय सरकारहरूले पालिकाहरु सिल गर्न थालेका हुन् ।

रिपोर्ट नआउँदै एक हप्ता घरमा अलग बस्न आग्रह गर्दै पठाए पनि अधिकांश मानिस समुदायमा घुलमिल भएकाले कोरोनाले गाउँमा त्रास फैलिएको स्थानीयले गुनासो गर्न थालेपछि त्यहाँको स्थानीय सरकारले यस्तो कदम चाल्न थालेका हुन् ।

केहि दिनअघि मात्रै डडेल्धुरा जिल्लामा कोरोना सक्रमित बढ्न थालेको भन्दै त्यहाँका तीन स्थानीय तहले पालिका क्षेत्रभित्र अनिश्चितकालीन रूपमा सिल गरेका छन् । त्यहाँ नगर क्षेत्रमा आवश्यक काम बाहेक हिँडडुल गर्न पूर्ण रोक लगाइएको छ । त्यस्तै, कोरोना सक्रमित बढ्दै गएपछि बैतडीको पाटन नगरपालिका भित्रका बजार क्षेत्र पनि सिल गरिएको छ ।
यही नियमलाई पालना गर्दै कैलालीको गोदावरी नगरपालिकाको नगरक्षेत्र पनि सिल गरिएको छ । कोरोना संक्रमितको संख्या दिनदिन बढ्दै गएपछि स्थानीयकै पहलमा आफुहरुले अत्तरिया बजार सिल गरेको अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए ।
अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सो क्षेत्र सिल गरिएको र स्थिति केही सहज भयो भने अबको केही दिनमा खुकुलो पार्दै लैजाने उनले बताए ।
कैलालीको गोदावरी नगरपालिकालाई सुदुरपश्चिमको राजधानीको रुपमा लिइन्छ । त्यहाँको अत्तरिया चोक चारै क्षेत्रबाट प्रवेश गर्ने खुल्ला नाका रहेको छ सो क्षेत्रमा चारैतिरका मानिस दैनिक आवतआवत गर्ने गर्दछन् । लकडाउनको अवधिमा करिब ५ हजार मानिस भारतदेखि आएका थिए । ती मध्ये ४ हजार जनाको आरडीटी टेस्ट गर्दा ४ सय जनाको रिपोर्ट पोजेटिभ र १ सय जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि कोरोना समुदायसम्म फैलिने जोखिम बढेपछि सिल गरिएको गोदावरी गनरपालिकाका प्रमुख हरिसिंह साउँदले बताएका छन् ।

त्यस्तै कोरोनाको जोखिम बढ्न थालेपछि कैलालीको गौरीगङ्गा नगरपालिका क्षेत्र पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सिल गरिएको छ । कोरोना रिपोर्ट ढिलो गरी आउने र सक्रमित व्यक्ति बजारबजार डुल्ने गर्दा कोरोनाको संक्रमण समुदाय स्तरसम्म फैलिने जोखिम बढ्दै जाँदा सुदुरका विभिन्न स्थानीय तहले आफै पालिकाहरू सिल गर्न थालेका छन् ।

भारतसंग सिधै सिमा जोडिएका सुदुरपश्चिमका विभिन्न जिल्लामा दिन प्रतिदिन कोरोना भाइरसले महामारीको रुप लिइरहेको अवस्था छ । यो अवस्थामा संक्रमण समुदाय स्तरसम्म फैलिएर उग्ररुप लिन सक्ने देखिन्छ । तसर्थ महामारी फैलिन नदिनका लागिसुदूरका स्थानीय तहले विशेष सतर्कता अपनाउन जरुरी छ ।

प्रतिक्रिया