मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाक लाखौं डलर भ्रष्टाचार भएको मुद्दामा दोषी ठहर भएका छन् ।
भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका सातवटै अभियोगमा नजिब दोषी भएको ठहर गरेको हो ।
उनले आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरू अस्वीकार गरेका थिए ।
उक्त मुद्दालाई मलेशियाको कानुनी शासन स्थापना र भ्रष्टाचार नियन्त्रणको प्रयासको महत्त्वपूर्ण परीक्षा मानिएको थियो । मलेशियाको वनएमडीबी नामक कोष अपचलन काण्डले विश्वभरि भएका जालसाजी र भ्रष्टाचारलाई उजागर गरिदिएको छ ।
उच्च अदातलका न्यायाधीश मोहमद नज्लान मोहमद गजलीले सबै प्रमाणका आधारमा अभियोजन पुष्टि भएको घोषणा गरेका हुन् ।
कस्ताकस्ता आरोप थिए ?
मङ्गलवारका फैसलाहरू सरकारी कोषबाट तात्कालिक प्रधानमन्त्रीका निजी खाताहरूमा ४ करोड २० लाख रिङ्गिट (झन्डै एक करोड अमेरिकी डलर) सारेको विषयसँग सम्बन्धित छन् ।
नजिब सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री थिए । उनले आफूले गल्ती नगरेको बताउँदै आफ्ना आर्थिक सल्लाहकारहरूले झुक्याएको दाबी गरेका छन् ।
उनका अनुसार फरार भएका झो लूले उनलाई भ्रममा पारेका थिए । झो लूलाई अमेरिका र मलेशियामा मुद्दा चलाइएकको छ । तर उनी आफू निर्दोष भएको बताउँछन् ।
नजिबका वकिलहरूले उनको खातामा आएको रकम साउदी राजपरिवारबाट चन्दा आएको बताइएको तर्क गरेका थिए ।नजिबलाई प्रत्येक अभियोगका लागि १५ देखि २० वर्ष कारागार हुनसक्छ । यसअघि नजिबले आफ्नो विपक्षमा फैसला आए पुनरावेदन गर्ने बताएका थिए।
के हो वनएमडीबी प्रकरण ?
क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवम् रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर सन् २००९ मा रजाकले वनएमडीबी स्थापना गरेका थिए ।
तर सन् २०१५ को आरम्भतिर ब्याङ्क एवम् बन्डमा लगानी गरेकाहरूलाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि सो परियोजनाबारे संशय व्यक्त हुन थालेको थियो ।
त्यति बेला नै वाल स्ट्रीट जर्नलले सो कोषबाट ७० करोड डलर रजाकका निजी ब्याङ्क खाताहरूमा सारिएको कागजपत्र आफूले फेला पारेको भनेर विवरण प्रकाशित गरेको थियो ।
तर रजाकले कुनै पनि सार्वजनिक कोषबाट आफूले पैसा नलिएको दाबी गर्दै आएका छन् । सो कोषमा करोडौँ डलरको लेखाजोखा नभएको बताइन्छ । सत्तारूढ हुँदा सम्बन्धित निकायहरूले रजाकलाई सफाइ पनि दिएका थिए । तर उनीविरुद्ध केही देशमा अनुसन्धान हुँदै आएको थियो ।
देश छोड्न रोक र पक्राउ
दुई वर्षअघि निर्वाचनपछि उनलाई देश छोड्न प्रतिबन्ध लगाइएको थियो । पछि जुलाई महिनामा उनलाई पक्राउ गरियो । त्यसअघि रजाक र उनकी पत्नी रोज्मा मान्सरसँग सम्बन्ध देखिएका स्थानहरूमा प्रहरीले छापा मारेको थियो ।
प्रहरीले छापा मार्दा २७.३ करोड अमेरिकी डलर मूल्य भएका विलासिताका सामग्री र नगद भेटेको थियो । तिनमा गरगहनाको भाग ठूलो थियो । (बीबीसीकाे सहयाेगमा)
प्रतिक्रिया