राजधानी आएको ५ दिनपछि मात्र खेलाडीको कोरोना परीक्षण गरिने
काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्यले राजधानी प्रवेश गरेको ५ दिनपछि मात्रै कोरोना भाईरसको पीसीआर परीक्षण गर्न पाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानी प्रवेश गरेको पाँच दिनपछि मात्र खेलाडीको कोरोना परीक्षण हुने जानकारी गराएको छ । एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुचारु गर्ने लक्ष्यसहित क्याम्पमा रहेका खेलाडीलाई राजधानी बोलाईसकेको छ ।
कोरोनाको महामारीको बाबजुत सरकारबाट अन्तर्राष्ट्रिय खेलकुदको प्रशिक्षण गर्न भदौ १ बाट अनुमति पाएसँगै एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्न लागेको हो ।
एन्फाले पाटन हस्पिटलबाट खेलाडीको कोरोना परिक्षण गरिने जनाएको छ । हस्पिटलसँगको साझेदारीमा एन्फा होस्टेलमै खेलाडीको स्वाव संकलन गर्ने तयारी एन्फाले गरिरहेको छ ।
परिक्षणपछि मात्रै खेलाडीलाई एन्फा होस्टेलमा राखिनेछ । कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत नेपालले तीन घरेलु खेल असोज र कार्तिकमा खेल्दैछ ।
प्रतिक्रिया