आफ्नो कामको समीक्षा गरेका छन् त प्रधानमन्त्रीले ?
काठमाडौं । विश्वको राजनीति हेर्दा संवैधानिक प्रजातन्त्रमा एक राजनीतिक दलले अर्को दललाई समर्थन या बिरोध गर्नु स्वाभाविक रुपमा लिने गरिन्छ । सरकारका काम कारबाहीको बारेमा आलोचना पनि स्वाभाविक नै मानिन्छ ।
नेपालमा झण्डै दुई तिहाईको बहुमत प्राप्त सरकार छ । यो सरकारले के काम राम्रो गर्यो अनि के नराम्रो, सवैका आ–आफ्नै दृष्टिकोण होलान् । तर, दुई तिहाईको सरकारका प्रधानमन्त्रीले के गरेँ त भनेर आफैं घोत्लिएका होलान् कि नहोलान् ? उनले विगतमा गरिएका विकासका गतिविधिलाई निरन्तरता दिने बाहेक नयाँ के गरेँ भनेर सोचेका छन् त ? कि दुई तिहाईको पगरी भिरेर त्यसै गमक्क छन् हाम्रा प्रधानमन्त्री ?
हुनत वर्तमान प्रधानमन्त्रीले नेपालको नक्सामा कालापानीलाई समेटेर एउटा राम्रो उदाहरण त दिए । राम्रो कामको स्वागत गर्नु पनि पर्दछ । यो बाहेक वर्तमान सरकारले अघिल्ला सत्तासीनहरुको निरन्तरतालाई नै अगाडि बढाएको देखिन्छ । तर, सत्ता टिकाउनका लागि ६० जनाको जम्बो मन्त्रीमण्डल बनाएर चर्चामा आएका अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको कामकाज र वर्तमान प्रधानमन्त्रीको कामकाजमा चाहिँ केही फरक देखिएन ।
प्रधानमन्त्रीका नजिकका सल्लाहकारहरु प्रायः विवादित बनिरहे । कहिँ कतैबाट चुनौति नभएको यति शक्तिशाली सरकारका काम जनतामुखी रहेनन् । जनताको सुरक्षामा ध्यान दिनुपर्ने बेलामा वर्तमान रक्षामन्त्री आफ्नै रक्षामा लागे । सत्तामा आसिन व्यक्तिहरु आफ्नो स्वार्थसिद्धमा लिप्त हुँदा ३० वर्षदेखि काठमाडौंवासीको सपना मेलम्ची खानेपानी आयोजना पनि सम्पन्न हुनबाट वञ्चित छ ।
कोरोना महामारी तिव्र हुँदै गएको समयमा लकडाउन खुला गर्नुलाई जनताले अर्थपूर्ण रुपमा लिएका छन् । कर उठाउनका लागि सरकारले जनताको स्वास्थ्यसँग खेलवाड गर्न मिल्छ ? देशको वागडोर सम्हालेपछि आफ्नो पार्टीको समस्या देखाउने हैन, जनताको हितमा काम गर्नुपर्छ । पार्र्टीभित्रको विवादलाई नै देखाएर कामकाज गर्न सकिएन भन्नु पनि सान्दर्भिक नहोला ।
प्रधानमन्त्रीलाई कुनै किसिमको दवाव तथा छेकबार कहिँ कतैबाट आएको देखिएको छैन । प्रतिपक्ष पनि चुप लागेरै बसेको अवस्था छ । यस्तो अनुकुल वातावरणमा त फटाफट सरकारले आफ्नो काम देखाउनुपर्ने होइन र ? राष्ट्र, राष्ट्रियता तथा जनताको पक्षमा किन सरकारबाट केही सम्वोधन हुँदैन ? यो सरकार किन कामचलाउ जस्तो भएको हो ? जस्ता प्रश्न आम जनताका हुन् ।
शक्तिमा रहँदा काम गर्न नसक्ने अनि अरुलाई दोष दिने प्रवृत्ति भनेको चुनावमा हारेको नेताले अन्तरघातलाई बहाना बनाए जस्तै हो । समयको सदुपयोग गर्न नसक्ने नेता र नेतृत्व कहिल्यै सफल हुन सक्दैन । जित्नेले माला लगाउँछ, बहाना गर्नेले चिया पसलमा गफ गर्छ । त्यसैले देश र जनताको माग अनुसार आफ्नो निर्णय क्षमता प्रदर्शन गर्न सक्नुपर्दछ । दोष देखाएर होइन, चुनौतिका बीच काम गर्नसक्ने हिम्मत देखाएर जनतामा आफूलाई स्थापित गर्न सक्नुपर्दछ ।
यदि प्रधानमन्त्रीका लागि आगामी केन्द्रीय समिति अनुकुल छैन भन्ने हो भने पनि, केन्द्रीय समिति बस्नु भन्दा पहिलाको झण्डै एक महिनाको समय त प्रधानमन्त्रीसँग छ नि । भनिन्छ एकक्षणको एउटा निर्णयले नेतालाई राजनेता बनाइ दिन्छ । यो एक महिनाको लागि सदुपयोग गर्न सकियो र प्रधानमन्त्रीको रक्षाकवच स्वयं जनता बन्न गए भने अहिलेको पार्र्टीभित्रको विपक्षी खेमा रक्षात्मक पंक्तिमा उभिन विवश हुने थिए कि ?
प्रतिक्रिया