काठमाण्डाैमा काेराेना संक्रमण भयावह हुन सक्ने विज्ञहरूकाे चेतावनी
काठमाडौं । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै काठमाडौं उच्च जोखिममा परेको छ । लकडाउनको समयमा कोरोना संक्रमण दर स्थिर देखिएको काठमाडौंमा लकडाउन खुलेसंगै संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । जसले गर्दा काठमाडौं कोरोनाको हटस्पट बन्न सक्ने आँकलन विज्ञहरुले गर्न थालिएको छ । तर, अहिले हटस्पट बन्यो अब भयाभह स्थिति हुन्छ भनेर बस्नु भन्दा हामी दैनिक जीवनमा कसरी फर्किने भन्नेतिर ध्यान दिएर सावधानी अपनाएर अगाडि बढ्नु पर्ने जनस्वास्थ्य विज्ञ डा. समिरमणी दिक्षितले बताएका छन् ।
बाहिरी जिल्लाबाट नागरिक काठमाडौं भित्रिनु, मास्क तथा भौतिक दुरी कायम नहुनु र बाक्लो बस्ती हुनु संक्रमण बढ्नुको प्रमुख कारण बनेको छ । पहिले बाहिरी जिल्लाबाट भित्रिनेको परिक्षण नभएको तर अहिले संक्रमित जिल्लाबाट काठमाडौं भित्रिनेको संख्या ह्वात्तै बढेको र परिक्षण केहि हदसम्म काठमाडौं केन्द्रित बनाएकाले अहिले काठमाडौंमा संक्रमित बढि देखिन थालेको उनले बताए ।
भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम उपत्यकामा सर्न थालेको छ । विगतमा उपत्यकामा विदेशबाट आएका नेपालीमा मात्रै सङ्क्रमण देखिँदै आएकोमा हाल स्थानीय समुदायमा समेत संक्रमण देखिन थालेको विज्ञले बताएका छन् ।
सरकारले स्थिति नियन्त्रण बाहिर गए नेपालमा पुनः लकडाउन गर्न सक्ने आँकलन गर्न थालिएको छ । तर, अब लकडाउन गर्न नहुने बरु आम नागरिकले अनुशासित हुनु पर्ने, जोखिम समुहलाई बचाउनु पर्ने, मास्क अनिवार्य लगाउने तथा दुरि कायम गर्नेलगायतका सावधानी अपनाएर अगाडी बढ्नु सबैका लागि भलो हुने तर लकडाउन गर्दै अगाडी बढ्दा र्मुख्याइ हुने जनस्वास्थ्य विज्ञ डा. दिक्षितको भनाई छ ।
सरकारले हाल उपत्यका प्रवेशमा थप कडाइ गर्दै नाकाबाट भित्रिने सम्पूर्णको स्वाव परिक्षण भइरहेको छ । तर, त्यहाँबाट पनि सङ्क्रमित व्यक्ति प्रवेश गर्ने सम्भावना उच्च छ । भिडभाडलाई रोक्नु पर्ने, सार्वजनिक सवारी साधनमा अझ कडाइ गर्नु पर्ने, मास्क लगाउन अनिवार्य गर्नुपर्ने, बिना मास्क कहि छिर्न नदिने तथा आम नागरिकले अनुशासनलाई व्यावहारमा लागु गर्न सके संक्रमणलाई कम गर्न सकिने विज्ञ बताउँछन ।
सरकारको अबको भूमिका भनेको परिक्षणलाई व्यापक बनाई सकेसम्म धेरै परिक्षण गर्ने र मास्क अनिवार्य गर्ने तथा अनिवार्य मास्क लगाउनु आम नागरिकको भूमिका रहने उनले बताए ।
हाल समुदाय स्तरमै कोरोना देखिन थालेपछि थप संक्रमण फैलिन नदिन विभिन्न स्थानिय निकायले आ–आफ्नो क्षेत्रमा आफै लकडाउन गर्न थालेका छन् । संक्रमण बढ्दै जाल थालेपछि सरकारले आवश्यक परेमा पुनः लकडाउन गर्नेसम्मको तयारी गरेको छ । तर, संक्रमण बद्दै गएपनि पहिलेकै जस्तो पुर्णरुपमा लकडाउन गर्न सक्ने अवस्था नरहेको बरु संक्रमित हेरेर निश्चित ठाँउमा प्रतिवन्ध लगाउन सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देसक डा. बासुदेव पाण्डेले बताए ।
लकडाउनको अवधिमा सजग देखिएका नागरिक लकडाउन खुलेसंगै लापरवाही गरिरहेका छन् । जसले गर्दा संक्रमणदर ह्वात्तै बढिरहेको छ । समुदाय स्तरमै कोरोना संक्रमण देखिन थालेको अवस्थामा आम नागरिक आफैमा सजग हुन आवश्यक छ भने सरकारले परिक्षणको दायरा बढाएर १० हजारको हाराहारी पु¥याएको भने तापनि यो भन्दा बढी परिक्षणको दायरालाई बढाइ संक्रमितको पहिचान गर्न आवश्यक छ । कोरोनाले भयाभह स्थिति सृजना गरोस त्यो भन्दा पहिला नागरिक र सरकार दुवैले आ–आफ्नो दायित्व पुरा पर्ने बेला आएको छ ।
प्रतिक्रिया