कोरोनाका बिरामीले भरिए देशभरका अस्पताल
काठमाडौं । मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालको बेड पनि भरिँदै गएको छ । तराईका चार जिल्लामा सबैभन्दा धेरै बिरामी रहेको मन्त्रालयले जनाएको छ । भाइरस संक्रमितको संख्या २१ हजार ५ सय नाघिसकेको छ भने संक्रिय संक्रमितहरु ६ हजार भन्दा बढि रहेका छन् । ६४ भन्दा बढिले ज्यान गुमाइसकेका छन् । सक्रिय संक्रमितमध्ये २००० भन्दा बढी बिरामी तराईका ४ जिल्लामा रहेका छन् । यस्तै नेपालका ७ जिल्ला भने संक्रमित शुन्य भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।
मुलुक भरका कोरोना संक्रमितको उपचार गराइएका अस्पतालहरुमा संक्रमितकोे चाप बढेकोले राख्न समस्या भएको छ । वीरगञ्जमा देशभर मध्ये सबैभन्दा बढी संक्रमित रहेका छन् ।
नारायणी प्रादेशिक अस्पतालले संचालन गरेको अस्थायी कोभिड अस्पतालमा नर्मल ५० बेड र १० बेडको आइसियू रहेकोमा सो अस्पतालमा अहिले ५७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यस्तै, वीरगन्जमा प्राइभेट हस्पिटलले आइसोलेसनको रुपमा १०० बेड सामान्य र ३० बेड आइसियूको रुपमा स्थापना गरेको छ । सो अस्पतालमा पनि अहिले ७० भन्दा बढि बिरामी रहेका छन् । सबै अस्पतालका बेडहरु भरिएकाले घेरै संक्रमितहरु घरमै बस्न बाध्य भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले बताए ।
उता बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अबस्था पनि उस्तै रहेको छ । सो हस्पिटलमा अहिले ७५ भन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रदेश १ का संक्रमितमध्ये केही कोशी अस्पताललगायत अन्य अस्पतालमा पनि भर्ना भएका छन् । त्यसैले अहिलेको समयमा बेडको अभाव नभए पनि यही गतिमा बिरामीको संख्या बढ्दै जाने हो भने बिपिकेएचएसमा पनि बेडको ब्यवस्थापन गर्न कठीन हुने बिपिकेएचएसका र्यापिटेड रेस्पोन्स टिमका डा. लोकबहादुर श्रेष्ठले बताए ।
पहिला संक्रमण पुष्टि भएका ९७ प्रतिशत भन्दा बढिमा लक्षण नदेखिए पनि पछिल्लो समय लक्षणसहितका बिरामी अस्पतालमा रहेका र २ जना सिकिस्त बिरामीको आइसियुमा राखी उपचार थालिएको डा. श्रेष्ठले बताए । लकडाउन खोलेसँगै २ लाख भन्दा बढि नागरिक उपत्यका भित्रिएका छन् । उपत्यकामा पनि संक्रमितहरु धेरै देखिन थालेका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा रहेका छन् । अस्पतालमा बेडको संख्या नपुुगेकाले लक्षण नदेखिएका कारोना संक्रमितहरुलाई घरमैै बस्न अनुरोध गर्दै फिर्ता पठाइएको र अव अस्पतालमा भर्ना लिन सम्भव नभएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले बताए ।
सरकारले लकडाउन खोलेसँगै कोरोना संक्रमित बढ्दै गएकोमा हामी सबैलाई अबगत छ । शुरुका अवस्थामा लक्षणबिनाका बिरामी अस्पतालमा राखेर धेरै रकम खर्च गरेको सरकारलाई यतिबेला लक्षण देखिएका बिरामी र सिकिस्त बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती देखिएको छ ।
प्रतिक्रिया