सोमबार, वैशाख ८, २०८२

एनएलजी इन्स्योरेन्स : प्रतिशेयर आम्दानीमा सन्तुलन कायम हुन सकेन

नेपालखोज २०७७ साउन २९ गते ८:४९

काठमाडौं । एनएलजी इन्स्योरेन्सको नाफा बढे पनि हकप्रदले सन्तुलन हुन सकेको छैन् । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आईपुग्दा अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशेयर आम्दानीमा सन्तुलन कायम गर्न सकेको छैन्।

खुद नाफाको वृद्धिभन्दा चुक्ता पूँजीमा धेरै वृद्धि भएका कारण इन्स्योरेन्सको प्रतिशेयर आम्दानी सन्तुलन हुन नसकेको हो । आर्थिक वर्ष २०७६र७७ को चौथो त्रैमासमा एनएलजीले २० करोड १० लाख ४७ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको १७ करोड ४२ लाख ९९ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १५.३४ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार रुपैंयाबाट १ अर्ब ८५ लाख ४२ हजार रुपैंया पुगेको छ । एक वर्षको अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ५७.४८ प्रतिशतले बढेको हो । खुद नाफाभन्दा चुक्ता पूँजी धेरै बढेका कारण इन्स्योरेन्सको प्रतिशेयर आम्दानीमा ७ रुपैंया २९ पैसाले गिरावट आएको छ ।

आर्थिक वर्ष २०७५र७६ को असार मसान्तमा इन्स्योरेन्सको प्रतिशेशयर आम्दानी २७ रुपैंया २२ पैसा रहेकोमा गत आर्थिक वर्षको अन्त्यमा १८ रुपैंया ९३ पैसा मात्र कायम भएको छ । यद्यपी इन्स्योरेन्सले भने वित्तीय विबरणमा ६० प्रतिशत हकप्रद निष्काशन गर्नु पहिलेको चुक्ता पूँजीका आधारमा प्रतिशेयर आम्दानी गणना गरी ३१ रुपैंया ३९ पैसा रहेको देखाएको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको व्यवसायमा झण्डै २२ करोड रुपैंयाको गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ८१ करोड ९३ लाख २२ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यमा ५९ करोड ८५ लाख २३ हजार रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ । पुनर्बीमा कमिशनबाट हुने आम्दानी र लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीमा सामान्य सुधार देखिएको इन्स्योरेन्सको व्यवस्थापन खर्च र खुद बीमा दाबी भुक्तानीको आकार घटेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा ५५ करोड ११ लाख ८७ हजार रुपैंया खुद बीमा दाबी भुक्तानी गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यमा ४९ करोड ८० लाख ६१ हजार रुपैंया मात्र खुद बीमा दाबी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन, पुनर्बीमा कमिशन वापतका खर्चको आकार बढेको इन्स्योरेन्सले ५ हजार ४६५ वटा बीमा दाबी भुक्तानी गरेको छ भने २ हजार ८६२ वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया