सोमबार, वैशाख ८, २०८२

धुलिखेल अस्पताल क्षेत्र सिल

नेपालखोज २०७७ साउन २९ गते १८:५१

काठमाडाैं । सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू, जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झालगायत स्थानीय जनप्रतिनिधि सम्मिलित बैठकले अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गर्दै अस्पतालको ५ सय मिटरको दूरीसम्म अर्को सूचना जारी नभएसम्म बन्द्य गर्ने निर्णय गरेको हो । “अस्पताल क्षेत्र सिल गरिएसँगै अस्पताल वरपर व्यवसाय गर्नेलाई आइतबारदेखि घरमै बस्न लगाइएको छ”, प्रजिअ तिमल्सिनाले भने ।

अन्ठानब्बे वर्षीय सङ्क्रमितको घर बजारमै रहेकाले धुलिखेल बजार बन्द गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । साथै वृद्धको वडा नं ७ स्थित निवासक्षेत्रको ५ सय मिटर वरपरसमेत बन्द गरिएको छ । ती वृद्धकी एक बुहारी, अस्पतालका एक नर्स, दमक घर भई अस्पतालमा पित्तथैली उपचारार्थ भर्ना भएका एक बिरामी, अस्पताल छेउ व्यवसाय गर्ने एक तथा सङ्घीय प्रहरी कार्यालय बनेपाको जनागालका छ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको डा झाले बताए ।

झाका अनुसार सङ्क्रमति वृद्धका परिवारका सदस्यले अस्पताललगायत समुदायका व्यक्तिसँग भेटघाट गरेको पाइएकाले ‘कन्ट्रयाक्ट ट्रेसिङ’ जारी छ । सङ्क्रमित व्यवसायीको घर वरपर २ सय मिटरसमेत अर्को सूचना जारी नगरिएसम्म बन्द गरिएको जनाइएको छ । हालसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित ६२ मध्ये २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् भने एक महिलाको मृत्यु भएको छ । साथै ३२ व्यक्ति आइसोलेशनमा उपचाररत छन् । तीमध्ये पनि २० प्रहरी, दुई स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, वैदेशिक रोजगारबाट फर्किएका २२ सर्वसाधाण र १८ कन्ट्रयाक्ट टेसिङ र अन्य कारणबाट सङ्क्रमित भएका हुन् ।

पोष्टका अनुसार हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा व्यवस्थित ८४५ शय्याको क्वारेन्टिनमा ९० पुरुष र १३ महिला बसेका छन् । नौ सय ४ पुरुष र १८५ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका हुन् । हालसम्म तेस्रो मुलुकबाट ४ २० काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलो पटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

यसैबीच काभ्रेपलाञ्चोकमा पहिलो पटक मण्डनदेउपुर नगरपालिकाका वडाध्यक्षलाई कोरोना सङ्क्रमण देखिएको छ । केन्द्र र पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने चेतावनी दिएका छन् । साथै जिल्लाभित्र होटल र रेष्टुरेण्टमा सामूहिक भोज, गोष्ठी वा अन्य सामूहिक भेलाजस्ता कार्य गर्न निषेध गर्ने तथा त्यस्ता गतिविधि गर्ने जोकोहीलाई कारवाही गरिने चेतावनी दिइएको छ ।   रासस

प्रतिक्रिया