प्राइम कमर्सियल बैंकको खुद नाफा २ अर्ब २९ करोड
काठमाडौं । एक्विजिशनपछि प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) बलियो बन्दै गएको छ । गत आर्थिक वर्षमा नै दुई विकास बैंकलाई एक्वायर गरेको प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले चौथो त्रैमाससम्ममा २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले शुक्रबार प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो।
बैंकले गत आवको असार मसान्तसम्म कमाएको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९ करोड ४० लाख १० हजार रुपैयाँ बढी हो। अघिल्लो आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो। खुद नाफासँगै बैंकको वितरण योग्य मुनाफा पनि बढेको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रहेको यस्तो मुनाफा गत आर्थिक वर्षको अन्त्यमा बढेर १ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ पुगेको छ।
सो अवधिसम्ममा बैंकले ४ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब २७ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब १५ करोड ४ लाख रुपैयाँ र सञ्चालन मुनाफा १२ करोड ७ लाख १८ हजार रुपैयाँ बढेको हो।
१३ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ, शेयरधनी कोषमा १ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ र शेयर प्रिमियम ६ लाख ४४ हजार रुपैयाँ रहेको छ। २०७६ भदौ २८ गते कन्काई विकास बैंक र फागुन २८ गते कैलाश विकास बैंकलाई एक्वायर गरेका कारण बैंकको समग्र वित्तीय अवस्था बलियो देखिएको हो।
प्रतिक्रिया