वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले घट्यो
काठमाडौं । गत आर्थिक वर्ष वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले घटेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीले वाणिज्य बैंकहरुको नाफामा प्रत्यक्ष असर पारेको हो।
आर्थिक वर्ष २०७६र७७ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशत अर्थात् ६ अर्ब २७ करोड रुपैयाँले घटेको हो ।
सामान्य अवस्था भएको भए औषतमा बैंकहरुको नाफा १५ देखि २५ प्रतिशतसम्म बढेको हुन्थ्यो । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले आर्थिक क्रियाकलाप ठप्पप्रायः हुँदा र सरकारले केन्द्रीय बैंकमार्फत् बैंकिङ क्षेत्रलाई प्रयोग गरेर ऋणीलाई राहत दिएपछि त्यसको असर बैंकिङ क्षेत्रमा परेको हो ।
सञ्चालनमा रहेका २७ वटा बैंकमध्ये कृषि विकास र प्रभु बैंकबाहेक शुक्रबारसम्म २५ वटा वाणिज्य बैंकले गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा ६ अर्ब २७ करोड रुपैयाँले घटेको हो ।
गत आर्थिक वर्षमा २५ बैंकले ५१ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । जबकी अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुको नाफा ५७ अर्ब ४४ करोड रुपैयाँ थियो । वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये १८ वटा बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको छ भने ७ वटा वाणिज्य बैंकको नाफा बढेको छ ।
कोरोनाको असर र राष्ट्र बैंकले ऋणीलाई दिएको सहुलियतका कारण २०७७ असार मसान्तमा वाणिज्य बैंकहरुको उठ्नुपर्ने ५१ अर्ब ७५ करोड रुपैयाँ ब्याज र किस्ता उठ्न नसक्दा त्यसको असर वित्तीय विवरणमा देखिएको छ ।
प्रतिक्रिया