प्रभु बैंकको शेयर आम्दानी घटेपनि खराब कर्जामा सुधार
काठमाडौं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम र नियन्त्रणका लागि लगाइएको लकडाउनले मुलुकको समग्र अर्थतन्त्रमा प्रभाव पारेको छ । यसको प्रभाव बैंकिङ क्षेत्रमा अझ बढी परेको छ ।
‘क’ वर्गका वाणिज्य बैंकले शुक्रबार प्रकाशित गरेको आव २०७६\०७७ को वार्षिक विवरणमा कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकको नाफामा असर परेको देखिएको छ ।
गत आर्थिक वर्ष ०७६र०७७ मा खराब कर्जा एक प्रतिशतले घटाएको प्रभु बैंक(PRVU) मा पनि कोरोनाले प्रभाव पारेको छ । गत आर्थिक वर्षमा बैंकको कर्मचारी खर्च ३५ करोड र अन्य सञ्चालन खर्च २४ करोड रुपैयाँले बढेको छ । खर्च बढेपछि गत आवमा बैंकको नाफा अघिल्लो आवको तुलनामा २३।३५ प्रतिशतले घटेको हो । गत आवमा बैंकले एक अर्ब ३६ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा बैंकले एक अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
कोरोनाका कारण ठप्प रहेका उद्योग धन्दालाई राहत तथा सहुलियत दिनु पर्दा बैंकको नाफामा गिरवाट आएको हो । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यवसायलाई ब्याजदरमा छुट दिने तथा कर्जा तिर्ने समय अवधि थप गरेपछि बैंकहरुको नाफा प्रभावित भएको हो ।
बैंकले समस्यामा रहेका किस्ट र डिसिबिएल बैंकलाई खरीद गरेको हुनाले खराब कर्जा उच्च रहेको थियो । अघिल्लो आर्थिक वर्षमा ३.७६ प्रतिशत खराब कर्जा रहेको बैंकको गत आवमा घटेर २.८१ प्रतिशतमा झरेको हो । गत आवमा बैंकले खराब कर्जा असुलीमा सुधार आएको भएपनि नाफा भने बढ्न सकेन ।
बैंकले गत आवमा ४ अर्ब ६४ करोड खुद ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २५ करोड रुपैयाँले धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ३९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आवमा बैंकको खुद फि तथा कमिसन आम्दानी पनि करिब २ करोड रुपैयाँले बढेर ९२ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
हाल चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकको सञ्चित कोषमा ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यस्तै बैंकको रिटेन अर्निङ एक अर्ब १० करोड रुपैयाँ छ । गत आर्थिक वर्षसम्ममा बैंकले एक खर्ब २८ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
प्रतिक्रिया