सोमबार, वैशाख ८, २०८२

कोरोना संक्रमण भईहाल्यो भने पनि आत्तिनु पर्दैन

नेपालखोज २०७७ भदौ ४ गते २०:२३

काठमाडौं । काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबारे गाउँघरमा धेरै किसिमका भ्रमहरु छन् । कोरोना हामीलाई लागिहाल्छ । हामी मरिहाल्छौं भन्ने भ्रम छ नागरिकमा । कोरोना संक्रमण भइहाल्दैमा मरिहाल्ने चाहिँ होइन भन्छन् जनस्वास्थ्यविद् । कोरोना संक्रमणबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बच्न सकिने डा.अनिल भट्टराई बताउँछन् । कोरोना संक्रमण भइहाल्यो कि भन्दै आत्तिने बानीले विभिन्न मानसिक रोगको समस्या सिर्जना हुने डा.भट्टराईले बताए ।

कोरोना भाइरस संक्रमण हाच्छ्यूँ गर्दा, खोक्दा यसबाट निस्किने छिटाहरुबाट सर्ने भएको हुनाले अनिवार्य रुपमा सबैले मास्क लगाउन जनस्वास्थ्यविद् सुझाउँछन् । रोग लागिसकेको मान्छेले छोएका वस्तुहरु रोग नलागेको मान्छेले छोएर नाक, मुख तथा आँखामा हात लगाउँदा पनि कोरोना सर्नसक्ने भएकाले यी कुराहरुबाट जोगिनुपर्ने पनि भट्टराईले बताए । साथै, घरमा कुनै सदस्यलाई कोरोना संक्रमण भइहाल्यो भने सकेसम्म उसलाई छुट्टै बस्ने तथा खाने व्यवस्था गर्नुपर्ने भट्टराईले बताए ।

लकडाउन खुकुलो भएसँगै संक्रमित बढे
नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण दिनदिनै बढिरहेको छ । हाल दैनिक ६ सय बढीमा कोरोना संक्रमण देखिन थालेको छ । नेपालमा आइतबार ६४१, सोमबार ५८१, मंगलबार एक हजार १६, बुधबार ६८१ र आज थप ७०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ । नेपालमा विगत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएसँगै कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट प्रति दशलाख जनसंख्यामा मृत्युदर ४.१ प्रतिशत रहेको छ ।

आज मृत्यु हुनेमा काठमाडौंमा एक महिला, सप्तरी र मकवानपुरका १\१ पुरुष र पर्सामा एक महिला र दुई पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । नेपालमा लकडाउनको समयमा कोरोना संक्रमणदर नियन्त्रण भएको थियो तर लामो समयसम्मको लकडाउनले नागरिकको जनजीवन अस्तव्यस्त हुन थालेको भन्दै सकरकाले लकडाउन खुला भएको घोषणा गरेको थियो । लकडाउन खुला भएसँगै संक्रमणदर पनि ह्वात्तै बढेको छ ।

हाल नेपालमा पाँच सय भन्दा बढी संक्रमित हुने जिल्लाहरुमा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् । भने मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्ला कोरोना मुक्त जिल्ला हुन् । कोरोना संक्रमण भएर आज थप आज २६४ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भइ मुक्त हुने दर ६१.२ प्रतिशत रहेको छ । नेपालमा ११ हजार सात सय ८६ जना क्वारेन्टाइनमा रहेका छन् । देशभरका संस्थागत आइसोलेसन ८ हजार ८३ जना र होम आइसोलेसनमा ३ हजार ७७२ रहेको प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया