नेप्से २२ अङ्कभन्दा धेरैले बढ्यो
काठमाडौं । नेप्से परिसूचक आज २२ दशमलव ३१ अङ्कले बढेको छ । आज नेप्से परिसूचक बढेर १४ सय ८४ दशमलव ९९ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि दुई अङ्कभन्दा धेरैले बढेको छ । आज होटल समूहबाहेक सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २६० दशमलव ३३ अङ्कले बढेको छ । त्यसैगरी निर्जीवन बीमा समूहको उपसूचक २३३ दशमलव ७ अङ्कले बढेको छ ।
आज तीन अर्ब ४६ करोड रुपैयाँ बराबरका ७७ लाख ६३ हजार कित्ता शेयर किनबेच भएका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २८ करोड ७४ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सोमबार सबैभन्दा धेरै पाँच प्रतिशत कमाएका छन् । अरुण काबेली पावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे चार प्रतिशतभन्दा धेरै गुमाएका छन् ।
प्रतिक्रिया