विश्व बैंकद्वारा नेपाललाई १ अर्ब २७ करोड अनुदान
काठमाडौं । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाँ (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा आज हस्ताक्षर भएको छ ।
विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन यो सहायताले मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट यो सहायता उपलब्ध हुन लागेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम विश्व बैंकसहित एसियाली विकास बैंक, यूरोपियन यूनियन, फिनल्याण्ड, ग्लोबल पार्टनरसिप फर एजुकेशन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, यूएसआइडी, यूनिसेफलगायत निकायको सहयोगमा सञ्चालनमा रहेको छ ।
जीपीई कोभिड-१९ द्रुत कोषबाट प्राप्त भएको यो अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड १९ आकस्मिक योजना कार्यान्वयनमा योगदान पु¥याउने विश्व बैंकको भनाइ छ ।
प्रतिक्रिया