मंगलबार, वैशाख ९, २०८२

नेपाली समाजमा कोरोना कि कूरीति ?

नेपालखोज २०७७ भदौ २७ गते १०:३१

काठमाडौं । यतिबेला विश्व नै कोरोना महामारीको चपेटामा परेको छ । करिब आठ महिनादेखि विश्वमै महामारीका रुपमा फलिएको कोरोना भाइरसले ९ लाख बढीको ज्यान लिइसकेको छ भने झन्डै ३ करोड मानिस संक्रमित भइसकेका छन् । यो महामारीको समयमा पनि नेपाली समाजमा भने संक्रमित अपहेलनाको शिकार भइरहेका छन् । कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्दा यतिबेला कोरोना संक्रमितहरूले समाजबाट दुर्व्यवहार खेप्नु परिरहेको छ ।

नेपाली संस्कार, रीतिरिवाज, चालचलनको विश्वमा जति प्रख्यात छ यहाँ कुसंस्कारले पनि त्यत्तिकै जरा गाडेको छ । नेपाली समाजमा हरेक कुरालाई नकारात्मक दृष्टिले हेर्न चलन छ । यो महामारीको समयमा पनि कोरोना संक्रमण पछि उसलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने हेक्का समेत मानिसहरुले नराख्दा र उनीहरुसँग गर्नुपर्ने व्यवहारका बारेमा सरकारले आवश्यक सचेतना गराउन नसक्दा कोरोना संक्रमित र संक्रमितको परिवारले छिछि र दूरदूर सहनु परिरहेको छ ।

कोरोना भाइरसको संक्रमण भएर निको भएपछि त्यो व्यक्ति त्यही समाजमा बस्नुपर्छ । उ पनि त्यही समाजको सदस्य हो भनेर समाजले बिर्सिदिँदा कोरोना संक्रमित र उसको परिवार समाजमा दुर्व्यवहार खेप्न बाध्य भईरहेका छन् । त्यस्तै समाजको दुर्व्यवहारको सिकार बनेका मोरङको पथरीशनिश्चरे–२ का एक परिवार ।

मोरङमा गत शनिबार एक ६५ वर्षका पुरुषको मृत्यु भयो । मृतकका छोरीका अनुसार बुबाको मृत्युपछि आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि यतिबेला परिवारले नै तिरस्कार खेप्नु परिरहेको छ ।

अगाडि गरिएको सम्पूर्ण परीक्षणमा कोरोना नदेखिएको तर मृत्युपछि आएको रिपोर्टमा कोरोना देखिनुले अस्पतालले बदमासी गरेको आशंका परिवारजनको छ । कोरनाका कारण मृत्यु भएको भन्दै परिवारले आफ्नो धार्मिक परम्परा अनुसार दाह संस्कार गर्न पाएनन् भने काजक्रिया गर्ने पुरोहितले समेत मृत्युपछिको कर्म गर्न नमानेपछि परिवारमा थप पीडा थपिएको थियो । नजिकका आफन्तहरु नै छेउ नपरेको भन्दै यस्तो हँदा गाँउबाटै बहिस्कार भएको अनुभुती भएको आफन्तको भनाई छ ।

मृतकको घरबाट करिब ३ सय मिटरको दुरीमा पुरोहित अध्ययन गर्ने गुरुकुल विद्यालय रहेको छ । सोही विद्यालयका शिक्षकहरूले समेत काजक्रिया गराउन मानेनन् । काजक्रियाका लागि पुरोहित खोज्दा कोरोना लागेको भन्दै कुनैपनि पुरोहितले काजक्रिया गर्न नै नमानेको मृतकका आफन्तले बताएका छन् ।

परिवारले मृतकको शव बुझेर विराटनगरबाट करिब ५० किलोमिटर पूर्व कानेपोखरी पुर्याउदा नेपाली सेनाले शव नियन्त्रणमा लिएर शव व्यवस्थापन ग¥यो । मृतकमा कोरोना पोजेटिभ देखिएको भन्दै नेपाली सेनाले शवको व्यवस्थापन गरेको थियो । शब व्यवस्थापनपछि आइतबारबाटै सुरु गर्ने भनिएको काजक्रिया नभएपछि वैदिक महासंघको दबाबमा विश्वनाथ गुरुकुल विद्यालयमा छलफलपछि मात्रै ५ जना पुरोहितले सो काजक्रिया गराउन सहमत भएका थिए ।

मृत्यु भएका व्यक्तिलाई ज्वरो आउन थालेपछि गत मंगलवार दमकको लाइफलाइन अस्पताल हुँदै भेन्टिलेटरको उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा लगिएको थियो । अस्पतालमा सुरुवातमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिर्पाेट आएको परिवार स्रोतले बताएको छ ।

डेङ्गी रोगको लक्षण देखिएपछि उनको उपचार विराटनगरको न्युरो अस्पतालमा हुँदै थियो । गत शनिवार विराटनगरको न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो । घटनापछि परिवार छिमेकी र मृतकलाई अस्पताल पु¥याउने सबैको गरिएको पिसिआर परिक्षण भने नेगेटिभ आएको छ ।

परिवारका सदस्यको मृत्युको पीडा त छ नै त्यसपछि समुदायका मानिसले गर्ने यस्ता व्यवहारले मृतकका परिवारलाई झनै विक्षिप्त बनाएको छ । नेपालमा कोरोना महामारीसंगै यो अर्को विभेदको घटना पनि मौलाएको छ । विज्ञहरुकाअनुसार कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ । यो कुनै जन्मको पाप अथवा श्राप होइन यो एउटा भाइरस मात्रै हो ।

आवश्यक सावधानी अपनाउन सके यसबाट बच्न सकिन्छ । त्यसैले कसैलाई संक्रमण भइहाल्यो भने पनि त्रसित होइन सजग रही कोरोना संक्रमितहरू पनि हाम्रै समाजका सदस्यहरू हुन् भन्ने हेक्का राखी उनीहरूलाई भेदभाव नभइ माया र सम्मान गर्नुपर्दछ । कोरोना जित्न हौसला प्रदान गर्न सक्नुपर्छ । यदि यसो भयो भने मात्रै कोरोना महामारीलाई जित्न सहज हुनेछ । यसबारेमा राज्यले पनि संक्रमितलाई हेर्ने र गर्ने व्यवहारमा परिवर्तन गर्नका लागि जनचेतनामूलक कार्यक्रमहरू समुदायस्तरमा तुरुन्तै गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया