मालीमा हतियारधारीद्धारा आठ सर्वसाधारणको हत्या
नेपालखोज
२०७७ भदौ २७ गते १२:१८
मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि ८ जना सर्वसाधारण नागरिकको हत्या गरेका त्यहाँका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारीहरुले बुधबार सो हमला गरेका थिए । ती अज्ञात हतियारधारीले गरेको आक्रमणमा ८ जना मारिएका र अरु ३ जना नराम्ररी घाइते भएको बताइएको छ ।
सो क्षेत्रमा ठूलो संख्यामा सैनिक खटिरहेका थिए । यसकारण पनि विगत लामो समयदेखि त्यहाँ शान्ति रहेको थियो । तर, बुधबार ती अज्ञात व्यक्तिहरु निकै ठूलो संख्यामा मोटरसाइकलमा आएका र गोली चलाएका थिए ।
उनीहरुले सो गाउँका कयौं घरमा आगो लगाएका थिए । रातिको समयमा भएको सो हिंसामा गाउँलेहरुबीच त्रास फैलिएको थियो ।
उक्त हिंसा कसले र किन गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन ।
सम्बन्धित
प्रतिक्रिया