किंग्स् कलेज र मिट भेन्चर्सबीच सहकार्य सम्झौता, नेपालका स्टार्टअपहरुलाई मद्दत पुग्ने
काठमाडौं । किंग्स् कलेज र सिंगापुरस्थित मिट भेन्चर्सबीच सहकार्य सम्झौता भएको छ । उक्त संस्थाहरुले उद्यमशिलता एवं नवप्रबर्तनको अवधारणालाई क्षेत्रीयस्तरमै कार्यान्वयन तथा प्रबद्र्धन गर्ने उदेश्यले सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार किंग्स् कलेजले मिट भेन्चर्सलाई नेपालका साथसाथै दक्षिण एसियाका स्टार्टअपसमक्ष पहुँच हासिल गर्न सघाउने जनाएको छ । साथसाथै कलेजले उसका विभिन्न अनुसन्धान तथा इन्क्युबेशन कार्यक्रममार्फत यस क्षेत्रबाट हासिल भएका ज्ञान तथा उत्कृष्ट अभ्यासहरुलाई मिट भेन्चर्ससँग साझा गर्ने बताए ।
यस सहकार्य सम्झौताअनुसार मिट भेन्चस्र्ले नेपाली तथा दक्षिण एसियाली स्टार्टअपहरुका लागि लगानी सहायता हासिल गर्ने अवसर प्रदान गर्नेछ । साथै नेपाली विद्यार्थीहरुले मिट भेन्चर्स तथा त्यसका सहायक कम्पनीहरुबाट उद्यमशिलताका परियोजनाहरुमाथि मेन्टरसिप हासिल गर्नका लागि उनीहरुलाई सिंगापुर तथा दक्षिणपूर्बी एसियामा आयोजना हुने उद्यमशिलता तथा नवप्रवर्तनमा आधारित कार्यक्रम तथा प्रतिस्पर्धाहरुमा सहभागी हुनसमेत अवसर प्राप्त गर्ने बिज्ञप्तीमा जनाइएको छ ।
कलेजका प्रधानाद्यापक नरोत्तम अर्यालले भने,“मिट भेन्चर्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित भएका छौं । यस सम्झौताले नेपाली स्टार्टअप तथा अधिक संख्याका उद्यमीहरुलाई अन्तराष्ट्रिय मेन्टरबाट मेन्टरसिप हासिल गर्ने, अन्तराष्ट्रिय बजारको अन्वेषण गर्ने तथा अन्तराष्ट्रिय लगानीकर्ताहरुसँग गाँसिने अवसर प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,” उनले थप गर्दै भने ।
त्यसैगरी, मिट भेन्चर्सका तर्फबाट फराह फिराडसले भनिन्, “नेपालसँग सम्झौता गरिएको यो हाम्रो पहिलो सहकार्य हो”। “उद्यमशिलताको विकास तथा प्रबद्र्धनको सवालमा हरेक मुलुकका आआफ्नै विशेष क्षमता हुन्छन् र यस सुन्दर राष्ट्रबाट भोलिका दिनमा के–कस्ता उद्यमीहरु जन्मन्छन् भनेर हेर्न हामी निकै उत्साहित छौं”, उनले भनिन् ।
एसिया क्षेत्रभित्र कार्य संचालन गरिरहेको मिट भेन्चर्स कर्पोरेट स्टार्ट अप इनोभेसन कम्पनी हो । कर्पोरेट क्षेत्रअन्तर्गतको नवप्रबद्र्धन र स्टार्टअपलाई सफलरुपमा स्थापित गर्न सघाउनु यसको मुख्य उदेश्य रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया