थप १५ करोड बालबालिका गरिबीमा धकेलिए : युनिसेफ
एजेन्सी । कोरोना भाइरस (कोभिड(१९) को महामारीको कारण विश्वभर थप १५ करोड बालबालिका बहुआयामिक गरिबीमा धकेलिएको युनिसेफले बताएको छ ।
यससँगै विश्वभर गरिबीको सामना गरिरहेका बालबालिकाहरुको संख्या करिब एक अर्ब २० करोड पुगेको युनिसेफ र सेभ द चिल्ड्रेनको नयाँ प्रतिवेदनले देखाएको हो । कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अगाडिको तुलनामा १५ करोडले बढी हो ।
प्रतिवेदनका अनुसार कम र मध्यम आम्दानी भएका मुलकुकमा धेरै बालबालिका गरिबीमा धकेलिएका छन् । बहुआयामिक गरिबीका विश्लेषण विश्वका ७० भन्दा बढी मुलुकमा शिक्षामा पहुँच, स्वास्थ्य स्याहार, आवास, पोषण, सरसफाइ र खानेपानको तथ्यांकको आधारमा गरिएको हो ।
युनिसेफले आगामी महिनामा अझै धेरै बालबालिकाहरु गरिबीमा धकेलिन सक्ने आशंका व्यक्त गरेको छ । साथै युनिसेफ तथा सेभ द चिल्ड्रेनले आगामी दिनमा पनि विश्वभरको अवस्थाबारे आफूहरुको नियमन जारी राख्ने बताएका छन् ।
युनिसेफका अनुसार बालबालिकाहरुलाई गरिबीबाट बचाउन सामाजिक सुरक्षा, वित्तीय नीति, सामाजिक सेवामा लगानी, रोजागारी र श्रम बजारको नियमनजस्ता कुराहरुमा सुधार गर्नु जरुरी देखिएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार महामारीको क्रममा धेरै बालबालिका गरिबीमा धकेलिएको मात्र नभइ यसअघि नै गरिबीमा रहेका बालबालिकाहरु झन् ठूलो गरिबीमा धकेलिएका छन् ।
प्रतिक्रिया