मंगलबार, वैशाख ९, २०८२

काठमाडौं मेडिकल कलेजको लापरवाहीले बिरामीको ज्यान गयो

नेपालखोज २०७७ असोज ५ गते १६:०४

काठमाडौं । केही अघि साधारण ज्वरोको उपचार गराउन काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेका पत्रकार यादव थपलियाको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको थियो । काठमाडौं मेडिकल कलेजमा महिनै पिच्छे भनौ वा पटकपटक यस्ता घटनाहरु हुने र त्यसलाई अस्पताल व्यवस्थापनले आर्थिक प्रलोभनमा लुकाउने कार्य जारी राखेको छ ।

अहिले फेरि अर्को घटना दोहोरिएको छ । जहाँ कोरोना संक्रमणका बावजुत पनि दैनिक सयौं बिरामीहरु आफ्नो स्वास्थ्य जाँच गर्न आउँछन् । तर, रोग निको पार्ने सोचमा काठमाडौं मेडिकल कलेज पुगेका कतिपय विरामीहरु डाक्टरको लापरवाहीका कारणले मृत्यु हुने गरेको देखिन्छ ।

यही अस्पताल हो जसले विगतमा साधारण उपचार गर्न आएका विरामीलाई मृत्युकै अवस्थामा पु¥याएका प्रशस्त घटनाहरु छन् । विरामीको उपचारमा ख्याल नगर्ने अनि मृत्यु भए पश्चात् बिरामी आफन्तलाई साधारण प्रलोभनमा पारेर आफ्नो स्वार्थ पूरा गर्दै आएको छ काठमाडौं मेडिकल कलेजले ।

आईतबार यस्तै घटना दोहोरियो । साधारण ज्वरो आएका कारण आफन्तले उपचार गराउन काठमाडौं मेडिकल कलेज पु¥याएका काभ्रेका ध्रुव पराजुलीलाई शुरुमा कोरोना परीक्षण गरियो । कोरोना नेगेटिभ भेटिएपछि उनलाई साधारण कक्षमा उपचारका लागि भर्ना गरिएको तर अस्पतालले उपचार गर्नुको सट्टा आलटाल नै गरिरहेको विरामीका आफन्तको आरोप छ ।

विरामीका आफन्तकै भनाईलाई आधार मान्ने हो भने पराजुलीको उपचार नपाएर नै मृत्यु भयो । पराजुलीको मृत्यु पछि आफन्तले अस्पताल व्यवस्थापन विरुद्ध आवाज उठाउने डरले व्यवस्थापनले विरामीका आफन्तसँग उपचारमा संलग्न चिकित्सकलाई सात दिनभित्र कार्वाही गर्ने, मृतककी श्रीमतीलाई आजीवन उपचार गर्ने र परिवारका एक जनालाई अस्पताल मै जागिर दिने सहमति गरेको बताएका छन् ।

मृत्युको घटनालाई सार्वजनिक नगर्न अस्पताल व्यवस्थापनले मृतकका परिवारलाई आग्रह गरिरहेको छ । काठमाडौं मेडिकल कलेजको व्यवस्थापन अहिले नोवेल अस्पतालको सुनील शर्माले गरेका छन् । उपचार गराउन आएका बिरामीको मृत्यु अस्पतालको लापरवाहीका कारणले भएको पुष्टि भएपछि नयाँ सञ्चालक सुनिल शर्मा यसलाई लुकाउन चाहेका छन् । तीन बुँदे सहमति किन गरियो त भन्ने प्रश्नमा अस्पताल प्रशासनले व्यवस्थापनको जिम्मेवारी भएको भन्दै पन्छिएको छ ।

अस्पताल प्रशासन प्रमुख दीपक बस्नेतले घटनाको बारेमा जानकारी दिने भन्दा पनि लुकाउने प्रयत्न गरे । चिकित्सकले आफ्नो जिम्मेवारी बहन गर्दा गर्दै बिरामीको मृत्यु भएको दावी पनि गरे । तर, बिरामीका आफन्तले अस्पतालको दावीलाई स्वीकार गरेका छैनन् । तथापी तीन बुँदे सहमतिबाट अस्पतालले लापरवाही लुकाउने प्रयत्न गर्दैछ ।

प्रतिक्रिया