मंगलवार २२.९१ अंक घट्यो शेयर बजार, शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार
काठमाडौं । मंगलवार शेयर बजार २२ दशमलव ९१ अंक घटेर १ हजार ५४६ दशमलव १५ विन्दुमा झरेको छ । यो दिन अघिल्लो कारोबार दिनभन्दा १ दशमलव ४६ प्रतिशतले बजार ओरालो लागेको हो । ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८४ अंक घटेर ३०७ दशमलव ३९ विन्दुमा झरेको छ ।
दोहोरो अंकले घटेको बजारमा मंगलवार १९९ कम्पनीको २ अर्ब ८१ करोड ४ लाख २५ हजार रूपैयाँ बराबरको ७८ लाख ५० हजार ६५ कित्ता शेयर कारोबार भएको छ । मंगलवार आर्थिक वर्ष २०७५/७६ को लाभांश नदिने सुचना सार्वजनिक गरेको शिखर इन्स्योरेन्सको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको ३१ करोड ९४ लाख १० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस दिन शिखर इन्स्योरेन्सको शेयरमूल्यमा नकारात्मक प्रभाव परेको छ । प्रतिकित्ता ४५ रूपैयाँले शिखर इन्स्योरेन्सको शेयरमूल्य मंगलवार घटेको हो ।
घटेको बजारमा युनाइटेड फाइनान्सको शेयर १० प्रतिशतसम्म बढेर कारोबार भएको छ । यस दिन युनाइटेड फाइनान्सको शेयरमूल्य सर्वाधिक बढेको हो । १० प्रतिशतसम्म बढेको युनाइटेडको शेयरमूल्य अन्त्यमा ६ दशमलव ८२ प्रतिशतमा थामिएको छ । यो दिन युनाइटेड फाइनान्सको शेयरमूल्य प्रतिकित्ता १५ रूपैयाँले बढेको छ । नबिल बैंकले प्राप्ती गर्ने हल्लाको कारण युनाइटेडको शेयरमूल्यमा सोमवारदेखिनै उतारचढाब देखिएको हो । सम्बन्धित कम्पनीहरुले भने यस वारे आधिकारिक निर्णय नभएको बताईसकेका छन् ।
आइतवारदेखि कारोबार सुरु भएको लिवर्टी इनर्जीको शेयरमूल्य लगातार घटिरहेको छ । मंगलवार पनि सर्वाधिक मूल्य घट्नेमा लिवर्टी ईनर्जी कम्पनीनै रहेको छ । यस कम्पनीको ९ दशमलव ८८ प्रतिशतले मंगलवार शेयरमूल्य घटेको हो ।
यस दिन कारोबारमा आएका सबै समूहगत परिसूचकहरु घटेर बन्द भएको छ । यो दिन सर्वाधिक विकास बैंकको २ दशमलव १८ प्रतिशत र जलविद्युत समूहको परिसूचक २ दशमलव शून्य २ प्रतिशत घटेको छ । त्यस्तै, बैंकिङ समूहको १ दशमलव ७७ प्रतिशत, व्यापारिक समूहको शून्य दशमलव २१ प्रतिशत, होटलको शून्य दशमलव ८६ प्रतिशत, वित्तको १ दशमलव ६७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव १४ प्रतिशत, अन्यको शून्य दशमलव ७२ प्रतिशत, लघुवित्तको शून्य दशमलव ९ प्रतिशत, जीवन बीमाको १ दशमलव १२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ७४ प्रतिशत परिसूचक घटेको छ ।
प्रतिक्रिया