सोमबार, वैशाख ८, २०८२

नेपालमा एक महिनामा ८५ अर्बको सामान आयात हुुंदा नौ अर्बको निर्यात, व्यापार घाटा ७६ अर्ब

नेपालखोज २०७७ असोज ९ गते २०:१३

काठमाडौं । पछिल्लो समय देशमा निर्यात बढेको छ । नेपाल राष्ट्र बैकले आज शुुत्रबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी पहिलो महिनाको प्रतिवेदनअनुसार कुल वस्तु निर्यात आठ दसमलव नौ प्रतिशतले बढेर नौ अर्ब ६२ करोड पुगेको छ ।

राष्ट्र बैंककाअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ दसमलव सात प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः चार दसमलव चार प्रतिशत र २५ दसमलव पाँच प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ७१ दसमलव सात प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७७\७८ को पहिलो महिनामा कुल वस्तु आयात १९ दसमलव छ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११ दसमलव पाँच प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७\७८ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २२ दसमलव दुुई प्रतिशतले घटेर ७६ अर्ब १९ करोड कायम भएको छ ।

वस्तुगत आधारमा पश्मिना, ऊनी गलैंचा, आयुर्वेदिक औषधी, जडिबुटी, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जुस, अलैंची, पोलिस्टर यार्न तथा अन्य धागो, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दसमलव आठ प्रतिशत, ३९ दसमलव पाँच प्रतिशत र १० दसमलव पाँच प्रतिशतले घटेकोे छ ।

वस्तुगत आधारमा चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कोइला, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, एम.एस. बिलेट, हटरोल सीट लगायतका वस्तुको आयात घटेको छ ।

राष्ट्र बैंकका अनुसार निर्याततर्फ वीरगञ्ज, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, मेची र कृष्णनगर भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ भैरहवा, नेपालगञ्ज, कृष्णनगर, कैलाली, तातोपानी र कंचनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दसमलव दुुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दसमलव तीन प्रतिशत रहेको थियो ।

प्रतिक्रिया