चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक
एजेन्सी । अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा सार्वजनिक गरेको छ ।
२८ अर्ब अमेरिकी डलर खर्च हुने योजनामा महिला यात्री पनि सहभागी हुने योजना तयार भएको बीबीसीले जनाएको छ । आर्टिमस नाम दिइएको अन्तरिक्ष कार्यक्रममा नासाले पाँच दशकपछि चन्द्रमामा एक पुरुष र एक महिलालाई पठाउन लागेको खबरमा उल्लेख छ ।
चन्द्र सतहमा यसअघि सन् १९७२ मा अन्तिम पटक मानव पाइला टेकिएको थियो । अन्तरिक्ष यात्रीहरु ओरीअन नाम दिइएको अपोलो जस्तै यात्रुवाहक यानमा चन्द्रमामा पुग्ने बीबीसीले जनाएको छ ।
अमेरिकाको तल्लो सदनले यसअघि नै एउटा विधेयक अनुमोदन गर्दै चन्द्रमामा अवतरण गर्ने यानको लागि ६० करोड डलर छुट्याएको छ ।
चन्द्रमामा जाने अन्तरिक्ष यात्रीको चयन प्रक्षेपण हुनुभन्दा कम्तीमा दुई वर्षअघि हुने बताइएको छ । त्यो मिशनले चन्द्रमाको माटो पृथ्वीको प्रयोगशालाका लागि ल्याउने तयारी गर्दैछ ।
प्रतिक्रिया