सोमबार, वैशाख ८, २०८२

बिहीबार २०.६१ अंक बढेको शेयर बजारमा करिब ३ अर्बको कारोबार, जलविद्युत समूहका लगानीकर्ताहरुले धेरै गुमाए

नेपालखोज २०७७ असोज १५ गते १६:०५

काठमाडौं । बिहीबार शेयर बजार २० दशमलव ६१ अंक बढेर बन्द भएको छ । बुधबार ३.१९ अंक घटेर १ हजार ५५० दशमलव ४३ विन्दुमा बन्द भएको बजार बिहीबार भने बढेको हो ।

बिहीबार १ हजार ५५३ दशमलव ९६ विन्दुदेखि खुलेको बजार १ हजार ५७२ दशमलव ९४ विन्दुसम्म पुगेको थियो । यो दिन १९३ कम्पनीका २ अर्ब ८० करोड ७७ लाख ८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको ९९ लाख ३० हजार ८३० कित्ता शेयर कारोबार भएको हो ।

यो दिन बैंक अफ काठमाडौं लिमिटेडको सर्वाधिक रकमको कारोबार भएको छ । बैंकले बिहीबार गत वर्षको लागि १६ प्रतिशत लाभांश घोषणा गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । यो दिन बैंक अफ काठमाडौंको १४ करोड ७६ लाख ५६ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । यो दिन बैंकको शेयरमूल्य पनि ९ दशमलव ३० प्रतिशत अर्थात प्रतिकित्ता रू. २४ ले बढेर रू. २८२ पुगेको छ ।

बिहीबार निर्जीवन बीमा र विकास बैंक समूहको परिसूचकमा उच्च बृद्धि देखिएको छ । यो दिन निर्जीवन बीमा समूहको परिसूचक ४ दशमलव ३१ प्रतिशत बढेको हो भने विकास बैंक समूहको पनि ३ दशमलव ४८ प्रतिशतले बढेको हो । त्यस्तै बैंकिङ् समूहको १ दशमलव ५२ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ८८ प्रतिशत, होटलको शून्य दशमलव ४६ प्रतिशत, वित्तको शून्य दशमलव ७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ६७ प्रतिशत, अन्यको शून्य दशमलव २९ प्रतिशत, लघुवित्तको शून्य दशमलव ८२ प्रतिशत र जीवन बीमाको १ दशमलव ६६ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । बिहीबार सप्तकोशी डेभलपमेण्ट बैंकको शेयर प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. १६५ कायम भएको हो । दोहोरो अंकले बजार बढेको दिन जलविद्युत कम्पनीको शेयरमूल्य घटेको छ । बिहीबार माउण्टेन हाइड्रो नेपाल लिमिटेडको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८० प्रतिशतले घटेको छ । त्यस्तै पञ्चकन्यामाई हाइड्रो र हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य बिहीबार ६ प्रतिशत भन्दा बढीले घटेको छ । बढेको बजारमा बिहीबार जलविद्युत समूहको परिसूचक सर्वाधिक १ दशमलव ८८ प्रतिशत घटेको छ । त्यस्तै यो दिन म्यचुअल फण्डको परिसूचक पनि शून्य दशमलव शून्य ८ प्रतिशत घटेको छ ।

प्रतिक्रिया