क्यानले खेलाडीको वर्गीकरण परिमार्जन गर्ने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ ।
क्यानले गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गर्ने भएको हो । क्यानले आज खेलाडी वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान, प्रशिक्षकसँग छलफल गरेर सुझाव सहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न निर्देशन दिएको छ ।
गत असोज ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरणलाई पारित गरेको थियो । क्यानले पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो ।
तर, संघका कोषाध्यक्ष रोशन कुमार सिंहको नेतृत्वमा रहेको समितिले बनाएको वर्गीकरणको चौतर्फी विरोध भएको थियो । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले वर्गीकरणमा भएको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।
प्रतिक्रिया